व्यवसायीलाई कर शिक्षा प्रदान

व्यवसायीलाई कर शिक्षा प्रदान



ओखलढुंगाका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको छ । कर शिक्षाबारे जानकारी नहुँदा व्यवसायीले समस्या झेल्नुपर्ने बाध्यता छ ।

आन्तरिक राजस्व कार्यालय लाहानको आयोजना र ओखलढुंगा उद्योग वाणिज्य संघको समन्वयमा सदरमुकामका व्यवसायीलाई कर शिक्षा प्रदान गरिएको हो । उनीहरुलाई करको दायरा, नीति, छुटको व्यवस्था व्यवसाय कर लगायतका बारेमा जानकारी गराइएको थियो ।

व्यवसायीलाई आन्तरिक राजस्व कार्यालय लाहानका कर अधिकृत प्रकाश राईले व्यवसायीहरुले हिसाब किताब कसरी राख्ने, दर्ता बिना व्यवसाय सञ्चालन गर्दा हुने कारबाही, मिसम्याचको समस्या, कर कसरी तिर्ने, कहिले तिर्ने, भ्याटको काम गर्दा ध्यान दिनुपर्ने विषय र व्यवसायलाई पर्ने समस्या करसम्बन्धी विषयमा जानकारी गराएका थिए । व्यवसायीहरुले पनि करसम्बन्धी विभिन्न जिज्ञासा राखेका थिए । उनीहरुले व्यवसाय दर्ता र कर तिर्दा पर्ने समस्या उठाएका थिए ।

व्यवसायीहरुले उठाएका जिज्ञासाहरुको सम्बोधन गर्दै आन्तरिक राजश्व कार्यालय लाहानका प्रमुख कर अधिकृत भिम प्रसाद काफ्लेले सरकारले करदाताहरुका लागि विभिन्न छुट सुविधा दिएकोले त्यसको प्रत्यक्ष लाभ लिन आग्रह गरेका छन् ।

व्यवसायीलाई करसम्बन्धी उचित ज्ञान नहुँदा धेरै समस्या पर्ने भएकाले कर शिक्षाले त्यसको समाधान गर्ने करदाता सेवा कार्यालय ओखलढुंगाका कर अधिकृत अर्विन रानाभाटले बताए ।

कर शिक्षा प्रदानसँगै व्यवसायीलाई व्यवसाय गर्दा आइपर्ने समस्यामा सहज हुने ओखलढुंगा उद्योग वाणिज्य संघका उपाध्यक्ष पुर्ण कुमार श्रेष्ठको बताए ।