ओखलढुंगाका ४७ जना बिरामीको केएमसी हस्पिटलमा निःशुल्क उपचार

ओखलढुंगाका ४७ जना बिरामीको केएमसी हस्पिटलमा निःशुल्क उपचार



निःशुल्क शल्यक्रिया तथा उपचार सेवा लिन ओखलढुंगाका ४७ जना बिरामी काठमाण्डौको केएमसी हस्पिटल पुगेका छन् । रोगको पहिचान भई शल्यक्रिया गर्नुपर्ने जिल्लाका बिरामीको निःशुल्क उपचारको व्यवस्था भए पछि सेवा लिन ४७ जना अस्पताल भएका हुन् । 

सिद्धिचरण नगरपालिकाका मेयर तथा नेपाली काँग्रेस ओखलढुंगाका जिल्ला सभापति तेजेन्द्र खनालको पहलमा काठमाण्डौँ मेडिकल कलेजमा निःशुल्क शल्यक्रिया गर्ने गरि सम्झौता भएको थियो । सोही अनुसार असोज १ गतेबाट निःशुल्क शल्यक्रिया सेवा सुरु भएको बताईएको छ ।

मंगलबार नाम दर्ता गराएका ४७ जनाको हाल उपचार भइरहेको मेयर खनालले बताए । सिद्धिचरण नगरपालिका साथै अन्य स्थानिय तहका विपन्न, गरिब, असहाय नागरिकहरुले आर्थिक अवस्था कमजोर भएकै कारण उपचारबाट बञ्चित हुन नपरोस भनेर निःशुल्क शल्यक्रिया तथा उपचार सेवा कार्यक्रम सञ्चालन गरिएको मेयर खनालले बताए ।

बिरामीलाई आवश्यक औषधी र औषधीजन्य सामानहरु भने बिरामी आफैले व्यवस्था गर्नुपर्ने अस्पतालले जनाएको छ । शल्यक्रिया सहित खाना, बास लगायतको व्यवस्था नगरपालिका र अस्पतालको पहलमा गरिएको छ ।