सुशासन र पारदर्शीतालाई ध्यान दिँदै काम गरियो भने राम्रो नतिजा आउँछ । त्यसको ज्वलन्त उदाहरण हो सिद्धिचरण नगरपालिका । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) को आर्थिक वर्ष २०७९÷०८० को नतिजा अनुसार ओखलढुंगा जिल्लाकै एक मात्र नगरपालिका सिद्धिचरण नगरपालिका पहिलो भएको छ ।
जिल्लाको आठ वटा स्थानिय तह मध्ये सिद्धिचरण नगरपालिका पहिलो भएको हो । लिजाको नतिजा अनुसार सिद्धिचरण नगरपालिकाले ८०.७५ अंका प्राप्त गरेको छ । नतिजा अनुसार सबै भन्दा कम लिखु गाउँपालिकाले प्राप्त गरेको छ । लिखु गाउँपालिकाले ६१.५० अंक प्राप्त गरेको छ । यसका साथै मोलुङ गाउँपालिकाले ७८.५०, चम्पादेवीले ७१.७५ र चिशंखुगढी गाउँपालिकाले ७१.५० अंक प्राप्त गरेका छन् ।
खिजिदेम्बाले ६९.५०, सुनकोशीले ६८.७५ र मानेभञ्ज्याङ गाउँपालिकाले ६२.२५ अंक ल्याएका छन् । जनप्रतिनिधी र कर्मचारीहरुले सुशासन साथै आर्थिक पारदर्शीतालाई प्राथामिकतामा राखेर काम गरैकै कारणले यो नतिजा आएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताए । मेयर खनालले सम्पुर्ण सरोकारवालाहरुलाई धन्यवाद दिएका छन् ।
स्थानिय तहहरुको शासकीय प्रबन्ध, संगठन तथा प्रशासन, वार्षिक बजेट तथा योजना तर्जुमा व्यवस्थापन, वित्तिय एवम् आर्थिक व्यवस्थापन, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, समाजिक समावेशीकरण, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन साथै सहकार्य र समन्वय लगायतमा मुल्यांकन भएको थियो ।
देशभरका स्थानीय तहमा संस्थागत क्षमता स्वमूल्याङ्कन (एलआईएसए–लिजा) कार्यान्वयनमा रहेको छ । स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि, २०७७ जारी गरी सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको हरेक आर्थिक वर्षमा स्वमूल्याङ्कन गर्ने गर्दछ ।
प्रतिक्रिया