खहरे बाढीले धान खेतमा क्षतिः विकासले निम्त्याएको विनाश

खहरे बाढीले धान खेतमा क्षतिः विकासले निम्त्याएको विनाश


भिजन समाचार
1.5k
Shares

विकासले विनाश निम्तिन्छ भन्ने ज्वलन्त उदाहरण भुल्के बेँसीमा देखिएको छ । गए राती परेको अविरल वर्षा सँगै आएको बाढीले सुनकोशी गाउँपालिका–६ भुल्के दोभानमा धान खेत पुरिएको छ ।
भुल्केका करिब १६ जनाको धान रोपिएको खेल बाढी सँगै आएको खहरेले पुरिएको छ । भुल्के ताप्केडाँडा हुदै सुनकोशी गाउँपालिका सदरमुकाम जान खनिएको सडकका कारण वर्षा सँगै आएको खहरे बाढीले भुल्के दोभानको खेत र धान पुरिएको स्थानिय प्रभा गौतमले जानकारी दिए ।
मानिस र पशु चौपाया साथै घर गोठमा क्षति नभए पनि खेत र धान बाली पुरिएको गौतमको भनाई छ । गौतमका अनुसार सडक खनिएको कारण माथि पाखा बाट आएको खहरेले भुल्के र मानेभञ्ज्याङ गाउँपालिका–९ माधवपुर जोड्ने झोलुङ्गे पुलमा पनि क्षति गरेको छ ।
यसका साथै मानेभञ्ज्याङ माधवपुरको माटे दोभानमा पनि बाढी सँगै आएको खहरेले खेत पुरिएको छ । त्यहाँ पनि सडक खनिएको कारण वर्षा सँगै आएको खहरेले खेत पुरिएको बताईएको छ ।
भुल्के दोभानमा के कति क्षेत्रफलमा क्षति पुगेको भन्ने बारे विवरण आउन बाँकी रहेको गाउँपालिका अध्यक्ष कमल तामाङले बताए । स्थलगत अनुगमन गरेर क्षतिको विवरण संकलन गरिने अध्यक्ष तामाङको भनाई छ । सडक खनिएकै कारण वर्षा सँगै आएको खहरे बाढीले धान खेत पुरिएको अध्यक्ष तामाङले बताए । क्षतिको एकिन विवरण आउन बाँकी छ ।