जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा सेवाग्राहीको स्वास्थ्य परीक्षण सेवा सुरु गरिएको छ । कार्यालयमा सेवा लिन आउने सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै गत असार १५ गतेबाट स्वास्थ्य परिक्षण कक्ष स्थापना गरि जेष्ठ नागरिक र आम सेवाग्राहीको स्वास्थ्य परिक्षण गर्न थालिएको हो ।
सिद्धिचरण नगरपालिका, जनस्वास्थ्य कार्यालय र प्रशासनको समन्वयमा सञ्चालित कक्षबाट सेवाग्राहीहरुको मधुमेह (सुगर), रक्तचाप (प्रेसर) जाँच, टाउको दुखेको, पेट दुखेको, ज्वरो लगायत अन्य स्वास्थ्य समस्याको जाँच गरि आवश्यक औषधि समेत वितरण गर्ने गरिएको प्रशासकीय अधिकृत अनुप पौडेलले जानकारी दिए ।
यस कार्यक्रमले सेवाग्राही र जिल्ला प्रशासन कार्यालय सँगको सम्बन्ध सकारात्मक भएको महसुस गरिएको प्रमुख जिल्ला अधिकारी डा. नारायण ढकालले बताए । सेवाग्राहीको आफ्नो पालो कुर्दा लाग्ने समयमा सेवाग्राहीले आफुमा भएको स्वास्थ्य समस्या स्वास्थ्यकर्मीलाई जाँच गराउन सक्ने गरि व्यवस्था मिलाईएको प्रमुख जिल्ला अधिकारी डा. ढकालको भनाई छ ।
सेवा लिन आएका सेवाग्राहीलाई न्यूनतम जाँचसहित औषधि उपचार गर्ने गरिएको र दैनिक १५ जना भन्दा बढीले स्वास्थय परिक्षण कक्ष बाट सेवा लिइरहेको जिल्ला प्रशासन कार्यालयल ओखलढुंगाले जनाएको छ ।
प्रतिक्रिया