नेपाली सेनाको बाहिनीपति भलिबल प्रतियोगितामा रणभिम गण प्रथम

नेपाली सेनाको बाहिनीपति भलिबल प्रतियोगितामा रणभिम गण प्रथम



ओखलढुंगामा सम्पन्न नेपाली सेनाको बाहिनीपति ट्रफी प्रतियोगिता–२०८१ को भलिबल तर्फको उपाधी रणभीम गण खोटाङले जितेको छ । बिहीबार सम्पन्न अन्तिम खेलमा दुर्गा बक्स गण ओखलढुंगालाई ३–२ को सेटले हराउँदै रणभिम गणले उपाधी जितेको हो ।
नेपाली सेनाको श्री नं.१८ वाहिनी अड्डा, उदयपुर गाइघाटको आयोजनामा दुर्गा बक्स गण ओखलढुंगामा गत जेठ २० गते देखी प्रतियोगिता सञ्चालन भएको थियो । विजेता खेलाडीलाई प्रमुख जिल्ला अधिकारी डा. नारायण प्रसाद ढकाल र दुर्गाबक्स गणका गणपति प्रमुख सेनानी विजय प्रकाश आङ्देम्बेले मेडल र प्रमाणपत्र हस्तान्तरण गरेका छन् ।

प्रतियोगितामा श्री नं.१८ वाहिनी अड्डा अन्तर्गत ओखलढुंगा, उदयपुर र खोटाङको नेपाली सेनाका गण विच प्रतिस्पर्धा भएको थियो । बाहिनीपति ट्रफी प्रतियोगितामा उत्कृष्ट हुँदै छनौट भएका टिम तथा खेलाडीहरुले ‘पृतनापति ट्रफि प्रतियोगिता’ मा सहभागि हुन पाउने गणपति आङ्देम्बेले बताए ।
‘पृतनापति ट्रफी प्रतियोगिता’ मा उत्कृष्ट हुने टिम र खेलाडीहरुले ‘प्रधानसेनापति ट्रफी प्रतियोगिता’ मा सहभागी हुन पाउने छन् र त्यहाँ पनि उत्कृष्ट हुने क्षमतावान खेलाडीले राष्ट्रिय खेलाडी बन्ने अवसर प्राप्त गर्ने गणपति आङ्देम्बेले जानकारी दिए ।
ओखलढुंगामा भलिबल विधाको प्रतियोगिता भएको हो भने र बाहिनी अड्डा अन्तर्गतका अन्य जिल्लामा फुटबल, बास्केटबल, पौडी, तेक्वान्दो र बक्सिङ लगायत विधाका प्रतियोगिताहरु भएका थिए ।