ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका–४ केतुकेमा जिल्लाकै पहिलो जिपलाइन सञ्चालनमा आएको छ । विहिबार बुद्धजयन्तीको अवसरमा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवम् संघीय सांसद रामहरी खतिवडाले रिबन काटी जिपलाइनक चढेर उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सभापति खतिवडाले पर्यटन प्रवद्र्धनमा केतुकेको जिपलाइन कोसेढुंगा साबित हुने बताए । जिल्लाको विकास पर्यटन मार्फत सम्भव रहेको सभापति खतिवडाको भनाई छ ।
कार्यक्रममा प्रदेश सांसद बाबुराम गौतमले पर्यटनको माध्ययमबाट समृद्धि ल्याउन जिपलाइन सहयोगी सिद्ध हुने बताए । केतुके र समग्र जिल्लाको विकासका लागि आफुले प्रदेशमा सक्दो पहल गर्ने बताए ।
यस्तै सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले पृथक योजना अनुसार केतुकेमा जिपलाइन निर्माण भएको बताएका छन् । मेयर खनालले जिपलाइन मार्फत मानेभञ्ज्याङ गाउँपालिकाको समृद्धिमा सहयोग पुग्ने बताए ।
कार्यक्रममा मानेभन्ज्याङ गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले जिपलाइन सञ्चालनमा आएसँगै केतुकेको पर्यटन प्रवद्र्धन, व्यायार व्यवसाय र आयस्रोत वृद्धि हुने विस्वास व्यक्त गरेका छन् । निरन्तर सञ्चालनका लागि योजना निर्माण गरिने अध्यक्ष रुम्दालीले बताए ।
कार्यक्रममा वडा अध्यक्ष बिष्णु तामाङले केतुकेमा जिपलाइन निर्माण गर्ने आफ्नो योजना सफल भएकोमा खुशी व्यक्त गर्दै बजेट व्यवथापन गर्ने संघीय सरकारलाई धन्यबाद दिए । साथै यसको निरन्तरता र प्रभावकारी सञ्चालनको लागि सबैको सहयोग आवश्यक पर्नेमा उनले जोड दिएका छन् ।
केत्तुके बजार नजिकै बुद्ध पार्क देखी सिरान टोलसम्म निर्माण गरिएको ४५० मिटर लामो जिपलाइनको व्यवस्थित सञ्चालनका लागि आवश्यक छलफल र निर्णय गरेर नियमित रुपमा सञ्चालन गरिने उनले जानकारी दिए ।
ओखलढुंगा लगायत आसपासका जिल्लामै यो पहिलो जिपलाइन भएकाले आन्तरिक र बाह्य पर्यटकलाई आएर जिपलाइनको यात्रा गर्न उनले आग्रह समेत गरे । करिब ४५ लाख लागतमा ठेक्का मार्फत जिपलाइन निर्माण गरिएको हो । साहसिक खेल जिप लाइन सञ्चालनमा आएसँगै यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने विस्वास गरिएको छ ।
प्रतिक्रिया