ओखलढुंगामा जंगलमा आगो लगाउने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार साँझ सिद्विचरण नगरपालिका–११ नगरपार्क क्षेत्रमा आगो लगाएको आरोपमा २ जना पक्राउ परेका हुन् ।
स्थानीय मिनुमाया गुरुङको निजि वन (खरबारी) मा आगो लगाई क्षेती गरेको आरोपमा आपराधिक उपद्रो (आगो लगाएको) कसुरमा गुरुङले दिएको जाहेरीका आधारमा मंगलबार स्थानीय २६ बर्षीय महेश वि.क. र २३ बर्षीय सुजन वि.क.लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक तथा सूचना अधिकारी बालिस्टार सिंहले जानकारी दिए । पक्राउ परेका उपर ओखलढुंगा जिल्ला अदालतबाट हिरासतमा राखेर अनुसंधान गर्न चार दिनको म्याद थप गरिएको छ ।
जिल्लाभर आगलागीका घटना बढेसँगै प्रहरीले आगो लगाउनेको खोजी अभियान थालेको छ । सामुदायिक तथा नीजि वनमा आगो लगाउने व्यक्तिको पहिचान भएमा खबर गर्न प्रहरीले अपिल गरेको छ ।
जिल्लाभर विगत २ साता देखि आगलागीका घटना भइरहेका छन् ।
दर्जनौं सामुदायिक र नीजि वनमा डढेलो लागेको छ । व्यक्तिका घरहरु समेत जलेर नष्ट भएका छन् ।
सोमबार सिद्धिचरण नगरपालिका १० मा आगोले जलेर आमाछोरा २ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया