दोस्रो ओखलढुंगा महोत्सवको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । गत वैशाख ५ गते देखि १७ गतेसम्म ओखलढुंगा सदरमुकाममा सञ्चालन भएको महोत्सवको आय–व्यय बुधबार सह–आयोजक एआइके ग्रुप काठमाण्डौले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो ।
सार्वजनिक आएको विवरण अनुसार ३० लाख ३७ हजार १०० आम्दानी र ३२ लाख २० हजार रुपैंया खर्च भएको छ । विवरण अनुसार आयोजकलाई १ लाख ८२ हजार ९ सय रुपैंया घाटा लागेको देखाइएको छ ।
जसमा टिकट वापत १५ लाख ७५ हजार एक सय, बाल उद्यानबाट ६ लाख, स्टलबाट ८ लाख ६२ हजार आम्दानी भएको सह–आयोजक एआइके ग्रुपका कोषाध्यक्ष विश्वराम कार्कीले बताए ।
यस्तै खर्च तर्फ कलाकार खर्च १० लाख, कलाकार ओसारपसार दुई लाख, टेन्ट ६ लाख, सेक्युरिटी १ लाख ९० हजार, गाडीमा प्रचार माइकिङ शिर्षकमा एक लाख खर्च भएको छ ।
फ्लेक्स प्रिन्ट ५० हजार, मायाको चिनो ५० हजार, खादा तोरन ३० हजार, जेनेरेटर खर्च ४० हजार, साउन्ड सिस्टम दुई लाख ५० हजार, ढुवानी चार लाख, फोहोर व्यवस्थापन २० हजार, डिजेल ४० हजार र होटल खर्च दुई लाख ५० हजार गरि कुल खर्च ३२ लाख २० हजार भएको देखाइएको छ ।
यो आय–व्यय विवरण सह–आयोजकले सार्वजनिक गरेको र आयोजकले यसै साता विस्तृतमा आय–व्यय विवरण सार्वजनिक गर्ने ओखलढुंगा उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बताए ।
जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडिबुटी सहित समग्र उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजित महोत्सव १२ दिन सञ्चालन गरिएको थियो ।
ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना तथा एआइके ग्रुप काठमाडौंको सह–आयोजनामा १० दिनका लागि आयोजना गरिएको महोत्सवको दुई थप गरेर सोमबार समापन गरिएको छ ।
महोत्सवमा ५० भन्दा बढी लत्ताकपडा, खाद्य, भाडाकुडा, कृषि औजार, विधुतीय सामाग्री लगायत खेलकुद र मनोरञ्जनका स्टलहरु राखिएका थिए ।
महोत्सवमा ज्योती मगर, प्रिती आले, दुर्गेश थापा, शुबोध गौतम, बाल कुमार श्रेष्ठ लगायतका चर्चित कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए ।
दलका नेता र सरोकारवालाले महोत्सवको औचित्य माथि बहस गर्दै पर्यटन प्रवद्र्धन र जिल्लाको विकासमा योगदान गर्ने प्रतिवद्धता गरेका थिए ।
प्रतिक्रिया