दोस्रो ओखलढुंगा महोत्सव सम्पन्न भएको छ । गत वैशाख ५ गते बाट ओखलढुंगा सदरमुकाममा सञ्चालन भएको दोश्रो ओखलढुंगा महोत्सव–२०८१ सम्पन्न भएको हो ।
जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडिबुटी सहित समग्र उद्योग व्यवसायको प्रवद्र्धनका लागि आयोजित महोत्सव १२ दिन सञ्चालन गरिएको थियो । ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना तथा एआइके ग्रुप काठमाडौंको सह आयोजनामा १० दिनका लागि आयोजना गरिएको महोत्सवको दुई थप गरेर सोमबार समापन गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले बताए ।
कोशी प्रदेश सरकारका स्वास्थ्यमन्त्री प्रदिप कुमार सुनुवारको प्रमुख आतिथ्यतामा महोत्सव समापन गरिएको अध्यक्ष मास्केले बताए । महोत्सवमा ५० भन्दा बढी लत्ताकपडा, खाद्य, भाडाकुडा, कृषि औजार, विधुतीय सामाग्री लगायत खेलकुद र मनोरञ्जनका स्टलहरु राखिएका थिए ।
महोत्सवमा ज्योती मगर, प्रिती आले, दुर्गेश थापा, शुबोध गौतम, बाल कुमार श्रेष्ठ लगायतका चर्चित कलाकारहरुले मनोरञ्जनात्मक प्रस्तुती दिएका थिए । वैशाख ५ गते ओखलढुंगाका संघिय सांसद एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाको प्रमुख आतिथ्यतामा महोत्सव उत्घाटन भएको थियो ।
१२ दिन सम्म सञ्चालन भएको महोत्सवमा कति संख्याका दर्शकले अवलोकन गरे र कति आर्थिक कारोबार भयो यसको विवरण आयोजकले सार्वजनिक गराएको छैन । दोस्रो ओखलढुंगा महोत्सवको आय व्यय सार्वजनिक गर्न सरोकारवालाहरुले आयोजक सँग माग गरेका छन् । आयाेजकले महाेत्सवमा ६० हजार दर्शक भित्र्याउने लक्ष्य लिएकाे थियाे ।
प्रतिक्रिया