पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको दोस्रो ओखलढुंगा महोत्सव पैसा नतिरी हेर्न नपाइने भएको छ । आयोजकले टिकट मूल्य निर्धारण गर्दै शुल्क तोकेपछि पैसा नतिरी महोत्सव अवलोकन गर्न नपाइने भएको हो ।
दोस्रो ओखलढुंगा महोत्सवको टिकट मूल्य निर्धारण गरिएको छ । आगामी बैशाख ५ देखि हुने दोस्रो ओखलढुंगा महोत्सवमा प्रवेशका लागि आयोजकले आइतबार टिकटदर निर्धारण गरेको हो ।
निर्धारण गरिएको टिकट मुल्यमा विद्यार्थी र वृद्धवृद्धा बाहेक सबैलाई एक सय रुपैया तोकिएको छ । ५ बर्ष माथिका विद्यार्थीले परिचयपत्र र जेष्ठ नागरिकले वृद्धभत्ता कार्ड लिएर गएमा ३० प्रतिशत छुट दिइने उद्योग वाणिज्य संघका अध्यक्ष ज्ञानेन्द्र कुमार मास्केले जानकारी दिए ।
ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजना तथा एआइके ग्रुप काठमाण्डौको सह–आयोजनामा यहि बैशाख ५ गते देखि १५ गतेसम्म महोत्सव हुँदैछ ।
महोत्सवको तयारी तिव्र रुपमा भइरहेको र तयारी अन्तिम चरणमा पुगेको संघका अध्यक्ष मास्केले बताए । स्टेज निर्माण, स्टल व्यवस्थापन, अतिथि व्यवस्थापन लगायतका पूर्वाधार निर्माण र अन्य तयारी तिव्र पारिएको छ ।
जिल्लाको आर्थिक, सामाजिक, कृषि, पर्यटन, जडीबुटी र समग्र उद्योग व्यवसायको समय सापेक्ष विकास एवंम प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको संघका अध्यक्ष मास्केले जानकारी दिएका छन् ।
महोत्सवले जिल्लाको पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्नुको साथै जिल्ला बाहिरका व्यवसायी बिच व्यापार सम्बन्ध बढाउन सहयोग पुग्ने अध्यक्ष मास्केको भनाई छ ।
महोत्सव स्थलमा १५० भन्दा बढी स्टल राख्ने योजना रहेको आयोजकले जनाएको छ । महोत्सवमा चर्चित कलाकारहरुको समेत प्रस्तुति, स्थानीय कला, मौलिक संस्कृति, विभिन्न जातजातिका झाँकी, नृत्य तथा स्थानीय परिकारको पनि प्रदर्शन हुने छ ।
सिद्धिचरण नगरपालिका १२ को खेल मैदानमा आयोजना हुने महोत्सवको अवधिभर ६० हजार बढी दर्शक भित्र्याउने लक्ष्य राखिएको छ । आयोजकले अपेक्षा गरे अनुसार ६० हजार दर्शक आए र तोकिए बमोजिम १०० रुपैंयाको टिकट खरिद गरेमा दर्शकबाट मात्रै ६० लाख रकम जम्मा हुनेछ ।
महोत्सवका लागि सहयोग संकलन अभियान समेत चलाइएको स्रोतले जनाएको छ ।
ओखलढुंगा उद्योग वाणिज्य संघको आयोजनामा करिब ५ वर्ष पछि महोत्सव हुन लागेको हो ।
प्रतिक्रिया