केत्तुकेमा साहसिक खेल जिपलाइन निर्माण हुदै

केत्तुकेमा साहसिक खेल जिपलाइन निर्माण हुदै



पर्यटकीय हबका रुपमा विकास भईरहेको ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेमा जिल्लाकै पहिलो जिपलाइन निर्माण भईरहेको छ । देशकै सबैभन्दा अग्लो बुद्धको पुर्ण कदको मुर्ति निर्माण भएको केत्तुकेमा अर्को महत्वपुर्ण पर्यटकीय पुर्वाधार साहसिक खेल मानिने जिपलाइन निर्माण भईहरेको हो ।
केत्तुके बजार नजिकै बुद्ध पार्क देखी सिरान टोल सम्म ४५० मिटर लामो जिपलाइनको काम धमाधम भईरहेको वडा अध्यक्ष विष्णु तामाङले बताए । ओखलढुङ्गाको मात्र नभएर आस पासका जिल्लाहरुमै पहिलो यहाँ पर्यटकीय पुर्वाधारका रुपमा जिपलाइन निर्माण गरिएको वडा अध्यक्ष तामाङको भनाई छ ।
४५ लाख लागतमा ठेक्का मार्फत जिपलाइन निर्माणको काम धमाधम भईरहेको छ । करिब डेढ महिना भित्र निर्माण सम्पन्न भई जिपलाइन सञ्चालन हुने वडा अध्यक्ष तामाङले जानकारी दिए । अहिले फाउण्डेशन राख्ने र ट्रष्ट निर्माणको काम भईरहेकोले फिटिङको काम डेढ महिना भित्र सम्पन्न भई जिपलाइन सञ्चालनमा आउने बताईएको छ ।

साहसिक खेल जिप लाइन सञ्चालनमा आएसँगै पर्यटन मार्फत मानेभञ्ज्याङ गाउँपालिका–४ केत्तुकेको विकास हुने विश्वास गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । मानेभञ्ज्याङ गाउँपालिकाको लिब्जु उपो सामाथान, सातसल्लेको शहिद पार्क, किरातेश्वर गुफा, जयरामघाटको पुल, उवुको स्वालेवा र सुरिम पार्क लगायतको पर्यटकीय प्रवद्र्धन गरि युवाहरुमा रोजगारी सृजना गर्ने योजनाका साथ काम भईरहेको गाउँपालिका अध्यक्ष रुम्दालीले बताए ।
केत्तुकेमा गुम्बा, बुद्धको मुर्ति पार्क, बौद्ध डाँडामा सहिद स्मृति पार्क लगायतका पर्यटकीय पुर्वाधारहरु निर्माण गरिएका छन् ।