एचआईभी प्रभावित सँग सम्बन्धीत लाञ्छना र भेदभाव अन्त्यका लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाको आयोजनामा स्थानिय तहका न्यायिक समिति, सामाजिक विकास समितिका संयोजक, महिला कार्यपालिका सदस्य, पालिका स्वास्थ्य संयोजक र सरोकारवालाहरुको सहभागितामा अभिमुखिकरण कार्यक्रम गरिएको हो ।
ओखलढुङ्गाका सम्पुर्ण स्थानिय तहका सरोकारवालाहरुलाई एचआईभीको अवस्था, असरहरु र लाञ्छना विभेद न्युकिरणका लागि कार्यक्रमको आयोजना गरिएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञानबहादुर बस्नेतले बताए । एचआईभी प्रभावितहरुलाई समाजमा सम्मान जनक ढङ्गले बाच्न पाउने अधिकारको सुनिश्चितता गर्ने स्थानिय तहहरुको महत्वपुर्ण भूमिका रहेको निर्देशक बस्नेतको भनाई छ ।
समाजिक विभेद र लाञ्छानाकै कारण प्रभावितहरु समस्या र रोग लुकाएर बस्न बाध्य भएको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका जनस्वास्थ्य निरिक्षक एवम् एचआईभी फोकल पर्सन तारा सुवेदीले बताईन् । समाजमा आफ्नो समस्या राख्न सक्ने र खुलेर भन्न सक्ने वातावरण निर्माण गर्न सबैले ध्यान दिनुपर्ने सुवेदीको भनाई छ ।
समुदायमा रहेका प्रभावितहरु आफ्नो समस्या र रोग लुकाएर बस्न नहुने एचआईभी प्रभावित सारदा राईले बताईन् । आफु जस्तै प्रभावितहरुले खुलेर उपचार सेवा लिउन भन्ने उद्देश्यले यस विषयमा आफुले खुलेर लागेको राईको भनाई छ । विशेष गरि एचआईभी प्रभावितहरुले पौष्टिक खानपान, शारिरीक व्यायम र नियमित औषधी सेवनमा ध्यान दिनुपर्ने राईको सुझाव छ । एचआईभी प्रभावितहरुको सहजिकरणका लागि आगामी दिनमा विभिन्न सचेतनामुलक अभियान सञ्चालन गर्ने योजना रहेको राईले जानकारी दिईन् ।
एचआईभी सँग सम्बन्धीत लाञ्छना विभेद अन्त्यका लागि बजेटको व्यवस्था गरी समुदायमा सचेतनामुलक कार्यक्रम सञ्चालन गर्ने सहभागी स्थानिय तहका प्रतिनिधीहरुले प्रतिवद्धता जनाएका छन् । प्रभावितिहरुको माग र आवश्यकताका आधारमा आगामी दिनमा कार्यक्रम सञ्चालन गरिने सिद्धिचरण नगरपािलकाका उपमयेर केदार बाबु बस्नेतले बताए । अन्य विकास निर्माणमा जस्तै स्थानिय तहहरुले नागरिकको स्वास्थ्यका क्षेत्रमा बजेट र कार्यक्रम गर्न आवश्यक रहेको सरोकारवालाहरुले जनाएका छन् ।
हाल ओखलढुङ्गा जिल्लामा दश जना एचआईभी प्रभावित रहेको जिल्ला अस्पताल रुम्जाटारका फोकल पर्सन कुमार दाहालले बताए । ओखलढुङ्गा सहित सोलुखुम्बु र खोटाङका २६ जनाले जिल्ला अस्पताल रुम्जाटार मार्फत नियमित औषधी सेवन गरिरहनु भएको दाहालले जानकारी दिए ।
प्रतिक्रिया