आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया

आङ खसेका महिलाको निःशुल्क शल्यक्रिया


भिजन समाचार
3.8k
Shares

आङ (पाठेघर) खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया सुरु गरिएको छ । सुनकोशी गाउँपालिका ओखलढुङ्गाले दश वटै वडाका आङ खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया गर्न आयोजना गरेको शिविरमा शल्यक्रिया गर्ने काम सुरु गरिएको हाे ।
गाउँपालिकाको आयोजनामा जिल्ला अस्पताल रुम्जाटारमा ३० जना आङ खसेका महिलाहरुको निःशुल्क शल्यक्रिया गरिने गाउँपालिका उपाध्यक्ष सुनिता अधिकारीले बताईन् । आईतबार पहिलो दिन चार जनाको शल्यक्रिया गरि सकिएको उपाध्यक्ष अधिकारीको भनाई छ ।
गाउँपालिकाका विभिन्न वडाका गाउँ गाउँका वर्षौं देखी समस्या भाेग्दै आएका र राेग लुकाएर बसेका महिलाहरुको पहिचान गरेर जिल्ला अस्पतालमा ल्याई शल्यक्रियाको व्यवस्था गरिएको उपाध्यक्ष अधिकारीले बताईन् । मंगलबार सम्ममा जिल्ला अस्पताल रुम्जाटारमा आएका सबै जनाको शल्यक्रिया उपचार हुने उनको भनाई छ ।
शिविरमा आएका विरामी र एक जना कुरुवालाई खाना, खाजा, बास र यातायातको व्यवस्था गाउँपालिकाले गरेको प्रमुख प्रशासकिय अधिकृत रामकुमार कार्कीले जानकारी दिए । कोशी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय, प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक ज्ञान बहादुर बस्नेतकाे सहजिकरणमा धनकुटा अस्पतालका चिकित्सकहरु मार्फत शल्यक्रिया भईरहेको प्रमुख प्रशासकिय अधिकृत कार्कीले जानकारी दिए ।
जिल्ला अस्पताल रुम्जाटार र ओखलढुंगा सामुदायिक अस्पताल मार्फत उपकरण सामाग्री र जनशक्तिको व्यवस्था भईरहेको आयोजकले जनाएको छ । शिविर आगामी ६ गते सम्म सञ्चालन हुनेछ ।