ओखलढुंगामा पर्यटन प्रवर्द्धनका लागि साहसिक साइकल दौड

ओखलढुंगामा पर्यटन प्रवर्द्धनका लागि साहसिक साइकल दौड



ओखलढुंगामा पर्यटन प्रवर्द्धनका लागि दोश्रो पटक साहसिक साइकल दौड प्रतियोगिता गरिएको छ । जिल्लाको सदरमुकाम बजार क्षेत्रमा पर्यटन प्रवद्र्धनका लागि साइकल दौड प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा देश तथा विदेशका ७५ जना प्रतियोगी सहभागी भएका थिए । ओखलढुंगा साइक्लिङ संघको आयोजनामा दोश्रो पटक प्रतियोगिताको आयोजना गरिएको हो ।
प्रतियोगितामा चार विधामा प्रतिस्पर्धा गराइएको आयोजक ओखलढुंगा जिल्ला साइक्लिङ संघका अध्यक्ष रामरत्न शाक्यले बताए । इलिट पुरुष, इलिट महिला, मास्टर ए, बी र जुनियर विधामा साइकल दौड प्रतियोगिता गराइएको शाक्यको भनाइ छ ।
इलिट पुरुषतर्फ १७ जनाले भाग लिएका थिए ।

प्रतियोगितामा राजेश मगर प्रथम, निरभ श्रेष्ठ दोस्रो र प्रचित थापा मगर तेस्रो भएका छन् । उनीहरुले क्रमशः ४ मिनेट २९ सेकेन्ड ४० मिलीसेकेन्ड, ४ मिनेट ३७ सेकेन्ड ६१ मिलीसेकेन्ड र ४ मिनेट ३६ सेकेन्ड ७२ मिलीसकेन्डमा ३ किलोमिटरको दूरी पार गरेका थिए ।
इलिट महिलातर्फ ३ जना सहभागी भएकोमा निश्मा श्रेष्ठ प्रथम, उषा खनाल दोस्रो र अनिशा गुरुङ तेस्रो भइन् । उनीहरुले क्रमशः ५ मिनेट ५४ सेकेन्ड ७१ मिलीसेकेन्ड, ६ मिनेट १८ सेकेन्ड ५४ मिलीसेकेन्ड र ६ मिनेट २६ सेकेन्ड ३१ मिलीसकेन्डमा उक्त दूरी पार गरेका थिए ।

मास्टर ए तर्फ १० जनाले भाग लिएकोमा स्विछिक कार्की प्रथम, इन्द्रजित आङबुहाङ लिम्बु दोस्रो र कुन्जनी राई तेस्रो भएकी छन् । उनीहरुले क्रमशः ५ मिनेट ४० सेकेन्ड ६१ मिलीसेकेन्ड, ५ मिनेट ४९ सेकेन्ड ६१ मिलीसेकेन्ड र ५ मिनेट ५५ सेकेन्ड ९६ मिलीसकेन्डमा उक्त दूरी पार गरेका थिए ।
मास्टर बी तर्फ पनि ९ जनाले सहभागिता जनाएकोमा हर्क लामा प्रथम, विकास महर्जन दोस्रो र नान्डह्याङ वानेम तेस्रो भएका छन् । उनीहरुले क्रमशः ५ मिनेट ३७ सेकेन्ड ३२ मिलीसेकेन्ड, ५ मिनेट ४२ सेकेन्ड ७७ मिलीसेकेन्ड र ६ मिनेट ९६ मिलीसकेन्डमा उक्त दूरी पार गरेका थिए ।

जुनियर (१८ वर्षभन्दा मुनि) को प्रतियोगितामा ६ जना सहभागि थिए । निमा शेर्पा प्रथम, अश्विन खत्री दोस्रो र छिरिङ पासाङ शेर्पा तेस्रो भए । उनीहरुले क्रमशः ५ मिनेट २० मिलीसेकेन्ड, ५ मिनेट ४ सेकेन्ड १३ मिलीसेकेन्ड र ५ मिनेट १४ सेकेन्ड १६ मिलीसकेन्डमा उक्त दूरी पार गरेका थिए ।
सोमबार सम्पन्न प्रतियोगिता विजेतालाई नगद सहितका पुरस्कार प्रदान गरिएको शाक्यको भनाइ छ । उनका अनुसार प्रतियोगिताको इलिट महिला÷पुरुष दुवै तर्फ प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।

यस्तै जुनियर (१८ वर्षभन्दा मुनि) को प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः १० हजार, सात हजार र पाँच हजारको साथमा प्रमाणपत्र प्रदान गरिएको छ ।
प्रतियोगिताका विजेतालाई ओखलढुंगाका कार्यक्रमका प्रमुख अतिथि सिद्धिचरण नगरपालिका उपमेयर केदारबाबु बस्नेत, प्रमुख जिल्ला अधिकारी चेतराज बराल, तीन वटै सुरक्षा निकायका प्रमुख तथा संघका पदाधिकारी लगायतले पुरस्कार र प्रमाणपत्र वितरण गरेका थिए ।
सिद्धिचरण नगरपालिका ११ र १२ को बजार क्षेत्र तथा भित्री बाटोमा दौड प्रतियोगिता गरिएको थियो ।

तस्वीरहरु: निश्चल राजभण्डारी/भिजन समाचार