मुलखर्कमा बृहत साँस्कृतिक कार्यक्रम र डम्फु नृत्य प्रतियोगिता हुने

मुलखर्कमा बृहत साँस्कृतिक कार्यक्रम र डम्फु नृत्य प्रतियोगिता हुने



मन्जुश्री सम्वत २८६० औं (डुक ल्हाे) सोनाम ल्होछारको अवसरमा सुनकोशी गाउँपालिका–५ मुलखर्कमा बृहत साँस्कृतिक कार्यक्रम र डम्फु नृत्य प्रतियोगिता हुने भएको छ । ल्होछारको अवसरमा विभिन्न जातजातीहरुको झाँकी प्रदर्शनी साथै तामाङ समुदायको डम्फु नृत्य प्रतियोगिता हुन लागेको हो ।
कार्यक्रममा तामाङ, राई, मगर, सुनुवार, क्षेत्री, बाहुन, दलित लगायत विभिन्न समुदायमा प्रचलित मौलिक साँस्कृतिक झाँकी प्रदर्शनी गरिने आयोजक सोनाम ल्होछार मुल समारोह समितिका संयोजक सुवास तामाङले बताए ।
यसै क्रममा तामाङ समुदायको भाषा, धर्म, संस्कृती, संरक्षण तथा सम्बर्धन र प्रवर्धन गर्ने उद्देश्यले डम्फु नृत्य प्रतियोगिताको समेत आयोजना गरिएको संयोजक तामाङले जानकारी दिए । उक्त कार्यक्रमको अवसरमा धामी झाँक्रीहरुको समेत झाँकी प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको तामाङको भनाई छ ।
तामाङको डम्फु नृत्य, राईको साकेला, मगरको कौडा, सुनुवारको चण्डी नाच, बालन भजन खैजडी नाच साथै पञ्चेबाजा प्रस्तुती साथै गाउँपालिकामा बसाेबास गर्ने विभिन्न जातजातिका लोपोन्मुख मौलिक साँस्कृतिक नृत्यहरुलाई प्रदर्शन गरिने तामाङले जानकारी दिए ।
माघ २६ र २७ गते सञ्चालन हुने कार्यक्रममा ल्होछारको अवसरमा शुभकामना आदान प्रदान साथै मौलिक स्थानिय खानाका परिकारको प्रदर्शन गर्ने आयोजकले जनाएको छ । स्थानिय लोपोन्मुख साँस्कृतिक झाँकी प्रदर्शनी साथै चर्चित कलाकारहरुको सांगितिक प्रस्तुती समेत हुने गरी तयारीलाई तिव्रता दिईएको झाँकी संयोजक मनिश तामाङले बताए ।
तामाङ समुदायको आयोजनामा जिल्लामा पहिलो पटक सम्पुर्ण समुदायको साँस्कृतिक पहिचान, पहिरन, भेषभुसा सहितको जातिय झाँकीहरु प्रदर्शन हुनलागेकाे आयोजकले जनाएको छ । सोनाम ल्होछारको विधि बमोजिम माघ २६ गते मध्यराती १०८ द्विप प्रज्वलन गरि (डुक ल्हो) नयाँ वर्षलाई स्वागत गरिने मुल आयोजक समाराेह समितिले जनाएको छ ।
सोही अवसरमा तामाङ समुदायको बाहुल्यता रहेको सुनकोशी पाउँपालिका–५ मुलखर्कलाई तामाङ संस्कृति र पर्यटन प्रवद्र्धनका लागि होमस्टे घोषणा गर्ने कार्यक्रम रहेको बताईएको छ । मुलखर्कको नाघी पहरामा निर्माण गरिएको बुद्धको मुर्ती स्थलको प्रवर्धनमा समेत कार्यक्रमले महत्वपुर्ण भुमिका खेल्ने जनाईएको छ ।

कार्यक्रमलाई व्यवस्थित र प्रभावकारी बनाउन विभिन्न समिति उपसमिति बनाईएको छ । आर्थिक संयोजक मुन्ना तामाङ, प्रचार प्रसार संयोजक बिनोद तामाङ, सिदार्थ तमाङ, साँस्कृतिक संयोजक तेन्जिङ तामाङ, ब्यबस्थापन संयोजक रमेश तामाङ पाख्रीन, झाँकी संयोजक मनिश तामाङ, बोन्बो संयोजक शिल बहादुर तामाङ, यातायात संयोजक सुरेन्द्र तामाङ, होटल ब्यबस्थापनमा रमेश तामाङलाई जिम्मेवारी दिईएको छ । कार्यक्रमकाे तयारी र आर्थीक सङ्कलनकाे कामलाई तिव्र बनाइएकाे छ ।