राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले खेलकुदको माध्यम बाट युवालाई रोजगारी सिर्जना गर्न आवश्यक रहेको बताएका छन् । रोजगारीका लागि विदेश पलायन भएका युवालाई खेलकुदको माध्यम बाट स्वदेशमै रोजगारी सिर्जना गरेर गाउँको विकासमा लगाउन आवश्यक रहेको संघिय सांसद एवम् समितिका सभापति खतिवडाको भनाई छ ।
मंगलबार देखी मानेभञ्ज्याङ गाउँपालिका–३ उबुको ब्ओकुल खेल मैदानमा सुरु भएको प्रदेश स्थानिय तह स्तरिय अध्यक्ष कप फुटबल खेल प्रतियोगिताको उद्घाटन समारोहमा बाल्दै सभापति खतिवडाले यस्तो बताएका हुन् । खेलमा लागेका युवालाई नाम र दाम दुवैको व्यवस्था हुने अवस्था सिर्जना गर्न आवश्यक रहेको उनको भनाई छ ।
व्यवसायिक खेलाडी उत्पादन, पर्यटन प्रवद्र्धन र खेलको माध्यमबाट रोजगारी सिर्जना गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दालीले बताए । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बको प्रमुख आतिथ्यतामा प्रतियोगिताको उद्घाटन भएको थियो । ब्ओकुल खेल मैदानको स्तर उन्नति र आवश्यक पुर्वाधार निर्माणका लागि मन्त्रालय मार्फत सहयोग गर्ने मन्त्री लिम्बुले प्रतिवद्धता गरेका छन् ।
उद्घाटन कार्यक्रममा सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनाल, चम्पादेवी गाउँपालिकाका प्रमख नबराज केसी, सुनकाेशी गाउँपालिकाका प्रमुख कमल तामाङ, माेलुङ गाउँपालिकाका प्रमुख उत्तम राई , उपप्रमुख उर्मीला खतिवडा, साेलुदुधकुण्ड नगरपालिका साेलुखुम्बुका मेयर नाम्गेल शेर्पा लगायत विशेष व्यक्तित्वहरुकाे उपस्थिती रहेकाे थियाे ।
आगामी पुस २९ गते सम्म सञ्चालन हुने प्रतियोगितामा विजेतालाई नगद पाँच लाखको साथमा साढे दुई तोला सुन र दुई सय तोला चाँदीले बनेको ट्रफि साथमा मेडल र प्रमाण–पत्र पुरस्कार प्रदान गरिने गाउँपालिका अध्यक्ष रुम्दालीले बताए ।
उपविजेतालाई नगद तीन लाख सहित मेडल र प्रमाण–पत्र प्रदान गरिने छ । खेलको सेमीफाईनलिस्ट दुई टिमलाई एक–एक लाख रुपैयाँ प्रदान गरिने छ । प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पाँच हजार, उत्कृष्ट गोलरक्षकलाई १० हजार, सर्वाधिक गोलकर्तालाई १० हजार र उत्कृष्ट खेलाडी नगद १५ हजार साथमा ट्रफि प्रदान गरिने आयोजकले जनाएको छ ।
खेलमा ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, उदयपुर, ईलाम, सुनसरी, धनकुटा, भोजपुर र तेह्रथुमका १८ वटा स्थानिय तह सहभागी भएका छन् ।
प्रतिक्रिया