ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–३ का छत्र दर्जीको परिवारलाई बस्ने राम्रो घर छैन तर सुविधा सम्पन्न शौचालय छ । शौचालयको छानो जस्ताको छ भने, मान्छे बस्ने घर मान्द्रोले बारिएको टहरो छ । पुस महिनाको कठ्याङ्ग्रीदो जाडोमा यो घरमा १५ महिने बालक सहित अपांगता भएका दर्जी दम्पती बस्छन् ।
४० वर्षिय दर्जी र उनकी २३ वर्षिय श्रीमती सर्मिला नेपाली दुवै जना अपाङ्गता भएका व्यक्ति हुन् । छत्रलाई मानसिक स्वास्थ्य समस्या छ भने सर्मिला स्वर बोलाई सम्बन्धीको अपाङ्ता हुन् । दर्जीले नियमित मानसिक स्वास्थ्य सम्बन्धीको औषधी सेवन गरिरहेको खिजिदेम्बा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख ईन्द्र गौतमले बताए ।
ज्याला मजदुरी गरेर घर चलाउदै आएका दर्जी परिवारलाई बस्ने घरको आवश्यकता रहेको छिमेकी ज्योती नेपालीले बताईन् । कतै बाट जस्तापाता र केही आर्थिक सहयोग प्राप्त भए हामी स्थानियले घर बनाईदिने सल्लाह भएको नेपालीले जानकारी दिईन् । मान्द्रोले बारेर बनाईएको छाप्रो भित्र चिसो भुईमा सुत्दा उनिहरुका १५ महिने छोरा पटक पटक विरामी समेत परेको छिमेकी नेपालीको भनाई छ ।

रामेछापका विभिन्न स्थानहरुमा ज्याला मजदुरी गर्दै बसेका दर्जी करिब दुई वर्ष अघि देखी मात्र गाउँमा नियमित बस्न थालेको वडा अध्यक्ष टङ्कराज सुनुवारले बताए । गाउँमा बस्न थाले पछि छिमेकीहरुको सहयोगमा मान्द्रोको अस्थायी छाप्रो घर बनाईएको वडा अध्यक्ष सुनुवारले जानकारी दिए । दर्जी परिवारलाई जनता आवास कार्यक्रम मार्फत घर पार्ने पहल भईरहेको वडा अध्यक्ष सुनुवारले बताए ।
वडा कार्यालय मार्फत सोलार वत्ति उपलब्ध गराईएको वडा अध्यक्ष सुनुवारको भनाई छ । ओखलढुंगा सामुदायिक अस्पताल अन्तरर्गतको समुदायमा आधारित पुनरस्थापना कार्याक्रम (सीबीआर)ले दर्जी परिवारलाई आधुनिक शौचालय निर्माण गर्न सयोग गरेको सीबीआर प्रमुख तुलाराम कार्कीले बताए । दर्जी परिवारलाई जीविकोपार्जनको क्षेत्रमा सहयोग गर्ने योजना बनेको प्रमुख कार्कीको भनाई छ । सीबीआरले अपांगता तथा उनिहरुका परिवारका लागि शिक्षा, स्वास्थ्य, जीविकोपार्जन, सामाजिकीकरण र सशक्तिकरणको क्षेत्रमा सहयोग गर्दै आएको छ ।

प्रतिक्रिया