लिखुका नागरिकलाई नागरिकता लिन खर्चिलो

लिखुका नागरिकलाई नागरिकता लिन खर्चिलो



लिखु गाउँपालिकाको वडा नं.६, ७, ८ र ९ वडाका नागरिकले इलाका प्रशासन कार्यालय खिजिफलाटे बाट नागरिकता प्राप्त गर्ने व्यवस्था गर्न माग गरेका छन् । जिल्ला प्रशासन कार्यालय ओखलढुंगामा नागरिकता बनाउन आउन टाढा र असाध्यै खर्चिलो भएकाले यहाँका स्थानियले इलाका प्रशासन कार्यालय खिजिफलाटे मार्फत नागरिकता लिने व्यवस्था गर्न माग गरेका हुन् ।
केहि दिन अघि जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले लिखु गाउँपालिकामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा यि चार वडाका वडा अध्यक्षहरुले इलाका प्रशासन कार्यालय खिजिफलाटे मार्फत वडाका नागरिकलाई नागरिकता दिने व्यवस्था गर्न माग गरेका छन् । गाम्नाङटार, टारकेराबारी र पोकलीका नागरिकलाई जिल्ला प्रशासन कार्यालय आउनु भन्दा खिजिफलाटेको इलाका प्रशासन जान सहज हुने वडा अध्यक्षहरुको भनाई छ ।
लिखु देखी ओखलढुंगा सदरमुकाम सम्म सिँधै सडक जोडिएको भए पनि गाडी नपाईने भएकाले सिन्धुुलीको नवलपुर वा रामेछापको मन्थली घुमेर मध्यपहाडी लोक मार्ग हुदै जिल्ला प्रशासन आउनु पर्ने बाध्यता रहेको छ । नागरिकता लिन तीन दिन लाग्ने गरेको स्थानियको भनाई छ । लिखुका नागरिकले नागरिकता लिन चार जिल्ला घुमेर जिल्ला प्रशासन आउनु पर्ने भएकाले समय र पैसा धेरै लाग्ने साथै कुनै कागजात अपुग वा प्रक्रिया नपुगे फर्केर जानुपर्ने बाध्यता रहेको जनप्रतिनिधीहरुले बताए ।
स्थानियको मागको सम्बन्धमा गृह मन्त्रालयमा पत्र लेखी पठाईएको र निर्णय आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृणप्रसाद गौतमले बताए । जिल्ला प्रशासन मार्फत चाढो ताकेता गर्न लिखु गाउँपालिका–९ पोकलीका वडा अध्यक्ष केशवहरि ढुंगेलले अनुरोध गरेका छन् । लिखु गाउँपालिकाले चार वडाका नागरिकलाई इलाका प्रशासन मार्फत नागरिकता उपलब्ध गराउन लिखित माग गरेको बताईएको छ । गाम्नाङटार, टारकेराबारी र पोकली देखी पैदल हिडेरै करिब तीन घण्टामा इलाका प्रशासन कार्यालय खिजिफलाटे पुग्न सकिने स्थानियले बताएका छन् ।