गाउँगाउँमा म्याद गुज्रेका सामान विक्रि

गाउँगाउँमा म्याद गुज्रेका सामान विक्रि



जिल्लाको ग्रामिण क्षेत्रमा खान अयोग्य म्याद सकिएका दैनिक उपभोग्य सामग्रीको विक्रि वितरण हुने गरेको पाईएको छ । उपभोग्य मितिबारे थाहै नपाउने जिल्लाको विकट बस्तीमा बिनारोकटोक म्याद सकिएका खाद्य सामग्री बिक्री हुने गरेका छन् । पहिलो पटक जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले सदरमुकाम देखी टाढाको लिखु गाउँपालिकामा गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलहरुमा म्याद सकिएका सामाग्रि फेला परेका छन् ।
गाउँपालिका केन्द्र यसम आसपासका सात वटा भन्दा बढी होटल पसलहरुमा गरिएको अनुगमनमा चाउचाउ, बिस्कुट, आटा पिठो, मसला, पेयपदार्थ लगायत खाद्य सामग्री म्याद सकिएको अवस्थामा विक्रि वितरण भइरहेको पाइएको हो । अनुगमनमा करिब १० हजार मुल्य बराबरको म्याद सकिएका सामाग्रि फेला पारिएको जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत कृष्णप्रसाद गौतमले बताए । फेला परेका अखाद्य सामाग्री नष्ट गरिएको गौतमको भनाई छ ।

यसका साथै अनुगमनका क्रममा अधिकांश होटल पसल दर्ता नभएका, खाना पकाउने ग्यास सिलिण्डर र पेट्रोलको विना अनुमती असुरक्षित तवरले विक्रि वितरण भईरहेको समेत भेटिएको प्रशासकिय अधिकृत गौतमले जानकारी दिए । पहिलो पटक गाउँगाउँमा बजार अनुगमन गरिएकोले व्यापारी व्यवसायी र उपभोक्ताहरुलाई सचेत गराईएको गौतमले बताए ।
जिल्लाको पश्चिमी भेगमा रामेछाप जिल्लाको साघुँटारका व्यापारीले म्याद सकिन लागेका खाद्य सामग्री विक्रि गर्दै आउने गरेको लिुख गाउँपालिका–४ यसमका अमर श्रेष्ठले बताए । अनुगमनका क्रममा श्रेष्ठले केही दिन अघि मात्र साँघुटारको व्यापारी मार्फत लिनुभएको सामाग्रीको म्याद सकिएको पाईएको थियो ।
म्याद नाघेका अखाद्य वस्तु बिक्री वितरण गर्ने पसल व्यवसायीहरूले भने आफूहरूले थाहै नपाई म्याद गुज्रेका उपभोग्य वस्तु विक्री गरेको स्वीकार गरेका छन् । उपभोक्ताको स्वास्थ्य सँग जोडिएको विषय भएकाले क्षेत्राधिकार प्रयोग गरेर अगामी दिनमा बजार अनुगमनलाई प्रभावकारी बनाईने गाउँपालिका अध्यक्ष अशोक कुमार कार्कीले बताए ।
घरेलु तथा साना उद्योग कार्यालय, जिल्ला प्रशासन कार्यालय, लिखु गाउँपालिका र प्रहरीले संयुक्त बजार अनुगमन गरेका थिए । जिल्लाको गाउँगाउँमा खुलेका नयाँ बजार एवम् पसलहरुमा कालाे बजारी, म्याद सकिएका सामाग्रिकाे विक्रि भएकाे गुनासाे आएकाले आगामी दिनमा गाउँमा बजार अनुगमनलाई निरन्तरता दिईने जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले जनाएको छ ।