बालविबाह विरुद्ध सिद्धिचरण नगरपालिका–६ जन्तरखानीमा सडक नाटक प्रदर्शन गरिएको छ । लैगिंक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा ‘महिला सँग महिला जनप्रतिनिधी’ कार्यक्रम अन्तरर्गत जन्तरखानीमा सडक नाटक प्रदर्शन गरिएको हो ।
सोही अवसरमा लैंगिक हिंसा र बालविबाह रोकथामका लागि जनप्रतिनिधि र सरोकारवालाले खेल्नुपर्ने भूमिकाको विषयमा अन्तरक्रिया गरिएको थियो । महिला तथा बालिकाहरुका समस्या नेतृत्वमा रहेका जनप्रतिनिधीले सम्बन्धीत निकायमा खुलेर राख्नुपर्नेमा जोड दिएका छन् । महिला, बालबालिका, जेष्ठ नागरिक र असाहयको हक अधिकार सुनिश्चितताको लागि महिला जनप्रतिनिधीहरुले सधैँ पहल गरिरहेको नगर कार्य पालिका सदस्य अप्सरा कार्कीले बताइन् ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले बालविवाह, यसको असर र कानुनी व्यवस्था लगायतका विषयमा स्थानीयलाई सचेत गराएको थियो । २० बर्ष नपुगि विवाह गरे वा गराएमा कानुन अनुसार कारबाही हुने जानकारी गराईएको थियो । कानुन व्यवसायी बोधनारायण कट्वालले घरेलु हिंसा, कानुनी उपचार र निवारणका उपायहरुबारे स्थानिय नागरिकलाई जानकारी गराएका थिए ।
समुदायको साथ सहयोगले मात्र बालविवाह र लैगिक हिंसा रोकथाम सम्भव रहेको वडा अध्यक्ष मेखबहादुर मगरको भनाई छ ।
सिद्विचरण नगरपालिकाको आयोजना र सहयोगी हातहरुको समूह सहास नेपालको सहजीकरण लगायत कोकन नेपाल, ओसिएमसी र जिल्ला प्रहरी कार्यालयको समन्वयमा कार्यक्रम गरिएको थियो । जन्तरखानीको हिउँचुली वडा स्तरीय बाल क्लवले बालविबाह विरुद्ध सचेतनामूलक सडक नाटक प्रदर्शन गरेको थियो ।
प्रतिक्रिया