अपाङ्गमैत्री संरचना बनाउछौँः उपमेयर बस्नेत

भिजन समाचार
56
Shares

ओखलढुंगाको सिद्धिचरण नगरपालकाका उपप्रमुख केदारबाबु बस्नेतले आगामी दिनमा नगरपालिका भित्र बन्ने भौतिक संरचनाहरु अपाङ्गमैत्री बनाईने बताएका छन् । नगरपालिकाको नवनिर्मित भवन अपाङ्गमैत्री नभएको भन्नेबारे आएका गुनासोलाई मध्यनजर गर्दै यसमा अपाङ्गतामैत्री संरचना थप गर्ने विषयमा प्रयास भइरहेको उपप्रमुख बस्नेतको भनाई छ ।
अपाङ्गता भएकाहरुको लागि सरकारले निर्दिष्ट गरेको हक अधिकार, सुविधा र सहुलियतकाे प्रभावकारी कार्यान्वयनका लागि नगरपालिका प्रतिवद्ध रहेको उनको भनाई छ । अपाङ्गता भएकाहरुको सहजता, वृद्धि, विकास, जिविकोपार्जन र प्रोत्साहनको लागि नगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनको दाबी छ ।
३२औँ अपाङ्गता दिवसको अवसरमा सिद्धिचरण नगरपालिका–८ मा सम्पन्न कार्यक्रममा उपप्रमुख बस्नेतले यस्तो बताएका हुन् । कार्यक्रममा अपाङ्गता भएकाहरुको लागि भएका कानुनी व्यवस्था, कार्यान्वयनको व्यवस्था र खेल्नुपर्ने भूमिका लगायतको विषयमा अन्तरक्रिया गरिएको करुणा फाउन्डेसनका पालिका संयोजक राम बानियाले बताएका छन् ।