ओखलढुंगाको सानीटारमा सम्पन्न खुला म्याराथन प्रतियोगितामा पुकार बस्नेत र स्लो बाईक रेसमा सुशिल कार्कीले उपाधी जितेका छन् । मदरल्यान्ड तेक्वान्दो डोजाङको आयोजनामा सिद्धिचरण नगरपालिका–५ सानीटारमा सम्पन्न १० किलोमिटर खुला म्याराथनमा सोलुखुम्बुका बस्नेतले ३५ मिनेट ३० सेकेन्डमा निर्धारित दुरी पार गरेर उपाधी जितेका हुन् ।
प्रतियोगितामा दुर्गा बक्स गण ओखलढुंगाका सुर्य बहादुर आलेमगर द्वितीय र सिद्धिचरण नगरपालिका–७ का सुशान श्रेष्ठ तृतीय भएका छन् । म्याराथन तर्फ प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश: १२ हजार, आठ हजार र चार हजारको साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको डोजाङका अध्यक्ष देवराज दाहालले बताए ।
‘स्लो बाइक रेस’ प्रतियोगितामा मोलुङ गाउँपालिका–१ का सुशील कार्कीले पहिलो उपाधी जितेका छन् । कार्कीले ३० मिटर दुरी २ मिनेट ३० सेकेन्ड १४ मिली सेकेन्ड होल्ड गरेर पार गरेका थिए ।
प्रतियोगितामा दोलखाका बिपुल कार्की द्वितिय र सिद्धिचरण नगरपालिका–११ का विनोद दयाल भएका तृतीय छन् भने लिखु गाउँपालिका–९ का सुशील घिमिरेले सान्त्वना पुरस्कार जितेका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमश: आठ हजार ८८८, चार हजार ४४४, दुई हजार २२२ र एक हजार १११ को साथमा मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिएको डोजाङका अध्यक्ष दाहालले जानकारी दिए ।
सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालको प्रमुख आतिथ्यतामा दुई वटै प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । यसै अवसरमा जिल्ला ट्राफिक प्रहरी कार्यालय ओखलढुंगाले स्थानीय नागरिकहरुलाई ट्राफिक नियम सम्बन्धी सचेतना कार्यक्रम गरेको प्रचारप्रसार विभाग संयोजक रोसन दाहाले जानकारी दिए ।
प्रतिक्रिया