मानेभञ्ज्याङमा गाँजा खेतीको सम्भाव्यता अध्ययन

मानेभञ्ज्याङमा गाँजा खेतीको सम्भाव्यता अध्ययन



ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालकामा गाँजा खेतीको सम्भावनाबारे अध्ययन गरिएको छ । गाउँपालिकाको आयोजना र नेपाल फार्म व्यवसायी संघको संयोजनमा कात्तिक २१ देखि २३ गते सम्म औद्योगिक गाँजा खेती र औषधिय गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिएको हो ।
पालिकाले आर्थिक बर्ष २०८०/०८१ को बार्षिक स्वीकृत निति तथा कार्यक्रम अन्तर्गत गाँजा खेतीको सम्भाव्यता अध्ययन गरिएको गाउँपालिका उपाध्यक्ष आश्रचन राईले बताए । गाँजालाई औषधिका रूपमा कसरी उपयोग गर्न सकिन्छ र पालिकामा गाँजाबाट औद्योगिकरणको सम्भाव्यता के कस्तो छ ? भन्नेबारे सारोकारवालाहरु सँग अन्तरक्रिया तथा स्थलगत अनुगमन गरिएको उपाध्यक्ष राईको भनाई छ ।
सरकारले गाँजालाई वैधानिकता नदिए पनि वैधानिकता दिने चरणमा रहेकोले भावी दिनको लागि पुर्व तयारी स्वरुप यो कार्यक्रमको आयोजना गरिएको उपाध्यक्ष राईले जानकारी दिए ।

यस्तै नेपाल फार्म व्यवसायी संघका अध्यक्ष रिगेन्द्र गिरीले मानेभन्ज्याङ गाउँपालिकामा गाँजा खेतीको प्रचुर सम्भावना रहेको बताएका छन् । औषधिय र औद्योगिक दुवै प्रकारको गाँजा खेतीका लागि पालिकाको भूगोल अनुकुल रहेको तथा व्यापारिक दृष्टिले पनि सम्भावना प्रवल रहेको गिरीको भनाई छ ।
गाँजालाई वैधानिकताको लागि आफुहरुले अभियान नै सञ्चालन गरेर सरकार समक्ष निरन्तर आवाज उठाइरहेको अध्यक्ष गिरीको भनाई छ । आर्थिक समृद्धिको पाटोबाट हेरेर सरकारले गाँजालाई वैधानिकता दिनुपर्ने अध्यक्ष गिरीको सुझाव छ ।
गाँजा खेतीको सम्भाव्यता अध्ययन तथा अन्तरक्रिया कार्यक्रममा पालिकाका जनप्रतिनिधि, कर्मचारी, सबै वडाका जनप्रतिनिधि, कृषक लगायत सरोकारवालाहरुको सहभागीता रहेको मानेभञ्ज्याङ गाउँपालिकाले जनाएको छ । प्रहरीले वर्षेनी यस गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएका गाँजा नष्ट गर्ने गरेकाे छ ।