मोलुङ गाउँपालिका ओखलढुंगामा ५१९ जना विभिन्न प्रकृतिका अपांगता भएका व्यक्तिहरु छन् । ओखलढुंगा सामुदायिक अस्पताल अन्तरर्गतको सामुदायमा आधारित पुन स्थापना (सीबीआर) कार्यक्रमले उनिहरुको सशक्तिकरणका लागि काम गरिरहेको छ ।
सीबीआरले अपांगता तथा उनिहरुको परिवारका लागि शिक्षा, स्वास्थ्य, स्वरोजगार, जिविकोपार्जन र सशक्तिकरण लगायतको क्षेत्रमा काम गरिरहेको छ । पछिल्लो समय सीबीआरको सहजिकरणमा मोलुङका अपांगता भएकाहरु आफ्नो हक अधिकार र सशक्तिकरणका लागि संगठित भएका छन् ।
बुधबार मोलुङ गाउँपालिकाका उपाध्यक्ष उर्मिला खतिवडाको प्रमुख आतिथ्यतामा भएको पहिलो अधिवेशनले रेखबहादुर तामाङको अध्यक्षतामा अपांगता समावेसिकरण विकास संजाल मोलुङ गाउँपालिकाको नयाँ कार्य समिति गठन गरिएको छ ।
समितिमा उपाध्यक्ष आशा कुमारी राई, कोषाध्यक्ष सविता कार्की, सचिव यमुलाल ढकाल, सह सचिव लिलानाथ धमला सहित १३ सदस्यीय कार्य समिति गठन गरिएको हो । वडा स्तरिय अपांगता समितिका ५४ जना सदस्यहरुको सहभागिता र मोलुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राई, कार्यपालिका सदस्यहरु, वडा अध्यक्ष र जनप्रतिनिधी सरोकारवालाहरुको उपस्थितीमा संजालको नयाँ कार्यसमिति चयन भएको सीबीआर सहजकर्ता शेसन मगरले बताए ।
संजालको विधान अनुसार पहिलो बैठक बाट दुई जना सहस्य मनोनित गरिने सहजकर्ता मगरले जानकारी दिए । ओखलढुंगा सामुदायिक अस्पताल अन्तरर्गतको सामुदायमा आधारित पुन स्थापना (सीबीआर) कार्यक्रमले अपांगता भएकाहरुका लागि गरिएका सम्पुर्ण गतिविधिहरु अब यस संजाल मार्फत सञ्चालन गरिने सीबीआर मोलुङ गाउँपालिका टिम लिडर राम बुढाथोकीले बताए ।
संजालले अपांगता भएका व्यक्ति तथा परिवारको हकहितका लागि निरन्तर आवाज उठाउने बुढाथोकीको भनाई छ । सीबीआरले जिल्लाको मोलुङ र खिजिदेम्बा गाउँपालिकाका अपांगता भएका व्यक्ति तथा परिवारको हक अधिकार,जिविकोपार्जन र सशक्तिकरण लागि काम गरिरहेको छ ।
प्रतिक्रिया