भूकम्प पीडितलाई हलेसी तुवाचुङ नगरपालिका खोटाङको आर्थिक सहयोग

भूकम्प पीडितलाई हलेसी तुवाचुङ नगरपालिका खोटाङको आर्थिक सहयोग



जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितका लागि खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले आर्थिक सहयोग गरेको छ । हलेशी तुवाचुङ नगरपालिकाले भूकम्प प्रभावितलाई ११ लाख ५१ हजार आर्थिक सहयोग गरेको हो ।
भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत, उपचार, पुन:स्थापना, पुन:निर्माण लगायतका काममा सहयोग पुर्‍याउन नगरपालिकाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग रकम जम्मा गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुको दुई दिनको तलब कट्टा गरेर भूकम्प प्रभावित जिल्लालाई आर्थिक सहयोग गरिएको मेयर राईले जानकारी दिईन् ।
‘विपद्को बेला थोरै भए पनि सहयोग पुगोस भन्ने उद्वेश्यले आफुहरुले पाउने दुई दिनको तलब बापतको रकम कोषमा जम्मा गरेका छौ । पश्चिमलाई चोट लाग्दा पुर्वलाई पनि दुखेको छ । मानविय समवेदना सहित दु:खको घडीमा हामी पनि सँगै छौ भन्ने यो सन्देश पनि हो ।’ मेयर राईले भनिन् ।
गत शुक्रबार जाजरकोट केन्द्रबिन्दु बनाएर गएको ६.४ रेक्टर स्केलको भूकम्पमा परी १५७ जनाले ज्यान गुमाएका छन् । हाल राहत, उद्धार र पुर्नस्थापनाको काम भइरहेको छ ।