बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर रकम असुलेर मानेभञ्ज्याङ गाउँपालिका थाक्लेका सुमन बास्कोटा फरार भएका छन् । सुनकोशी गाउँपालिका–४ जेरुङघाटका १४ घर परिवारलाई बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर रकम असुलेर बास्कोटा छ महिना देखी फरार भएका हुन् ।
उनले जेरुङघाटका १४ घर परिवारबाट प्रति परिवार तीन हजारका दरले ४२ हजार रकम लिएर फरार भएको जेरुङघाटका राजिव राईले बताए । गत बैशाखमा बास्कोटाले बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर स्थानिय बाट रकम असुलेर लगेका थिए । बास्तोलालाई फोन सम्पर्क गर्दा आज ल्याउछु, भोली ल्याउछु, नत्र पैसा फिर्ता गर्छु भनेर ढाट्दै अहिले सम्म बेपत्ता भएको द्रोणहरी राईले जानकारी दिए ।
बास्कोटा बाट ठगीएका जेरुङघाटका स्थानियहरुले कानुनी उपचारका लागि केही महिना अघि जिल्ला प्रहरी कार्यालय ओखलढुंगामा उजुरी लिएर पुगेको बीरबहादुर राईले बताए । तर अहिले सम्म प्रहरीले पनि बास्कोटालाई सम्पर्कमा ल्याएर छलफल र कारबाही नगरेको राईको भनाई छ । यस विषयमा चाढै बास्कोटालाई सम्पर्कमा ल्याएर सत्य, तथ्य छानविन गरि कारबाही गरिने जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवम् प्रहरी निरिक्षक बालिस्टार सिंहले बताएका छन् ।
जेरुङघाटका रामबहादुर राई, थईन्द्र राई, अच्छेकुमार राई, द्रोणहरी राई, नैनकुमारी राई, बीरबहादुर राई, राजिब राई, मानबहादुर माझि, माउले माझि, यकिन्द्र राई, सरिमाया राई, नरध्वज राई, अदिलमान राई र शेरबहादुर राईलाई बिजुलीको मिटरबक्स ल्याईदिन्छु भनेर बास्कोटाले रकम असुलेका थिए ।
लामो समय सम्म पनि बास्कोटाले मिटरबक्स नल्याए पछि १४ मध्ये ११ परिवार आफैले मिटरबक्स जडान गरिसकेका छन् । बास्कोटालाई फोन सम्पर्क गर्दा चाढै जेरुङघाटबासीको रकम फर्काईदिने बताएका छन् । यस अघि पनि उनले कि मिटरबक्स ल्याई दिने कि पैसा फिर्ता गर्ने बताएका थिए । बास्कोटाले सुनकोशी गाउँपालिका–१ को साँधी र ढेबुवाका स्थानियहरुलाई पनि बिजुलीको मिटरबक्स ल्याईदिने भन्दै रकम असुलेर लगेको बुझिएको छ ।
प्रतिक्रिया