देम्बाडाँडा पुग्न तीन वटा पदमार्ग बन्ने

देम्बाडाँडा पुग्न तीन वटा पदमार्ग बन्ने


भिजन समाचार
5.9k
Shares

ओखलढुंगा जिल्लाकै सबै भन्दा अग्लो नेपालकै सय पर्यटकिय गन्तव्य मध्येको एक पर्यटकीय स्थल देम्बाडाँडा पुग्न तीन वटा पैदल मार्ग बन्ने भएका छन् । ३५५० मिटर अग्लो पर्यटकीय क्षेत्र देम्बाडाँडा पुग्न साईनबोर्ड (मार्गदर्शक) चिन्ह सहितको पदमार्ग बन्ने भएको हो । देम्बाडाँडा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई सहजताका लागि साइनबोर्ड र ठाउँठाउँमा चौतारा सहितका पदमार्गहरु बन्ने भएका हुन् ।
४४ औँ विश्व पर्यटन दिवसको अवसरमा बुधबार पदमार्ग निर्माणका लागि नेपाल पर्यटन बोर्ड र खिजीदेम्बा गाउँपालिका विच सम्झौता भएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताए । खिजिदेम्बा गाउँपालिका–७ थामडाँडा बाट, वडा नम्बर–४ चर्नालु गुम्बा देखि र मोलुङ तथा सिद्धिचरण नगरपालिका क्षेत्र भएर आउने पर्यटकका लागि खिजीदेम्बा–९ को रिपाल डाँडाबाट देम्बाडाँडा सम्म पुग्ने पदमार्ग निर्माण गर्ने योजना रहेको गाउँपालिका अध्यक्ष शेर्पाले बताए ।
गाउँपालिका र बोर्डको ५०÷५० प्रतिशत सह–लगानी गरि ३० लाख लागतमा योजना सम्पन्न गरिने अध्यक्ष शेर्पाको भनाइ छ । दशैँ अघि नै पदमार्ग निमार्णको काम सम्पन्न भइसक्ने बताउँदै गाउँपालिका अध्यक्ष शेर्पाले यसले आन्तरिक तथा बाह्य पर्यटकलाई देम्बाडाँडा पुग्न सहज हुनुको साथै पर्यटन प्रवद्र्धनमा महत्वपुर्ण टेवा पुग्ने बताए ।
गाउँपालिकाले देशकै सय गन्तव्यमा पर्ने पोकली झरना हुँदै खिजीदेम्बाको विभिन्न पर्यटकिय क्षेत्र, थोलेदेम्बा डाँडा, पिके पिक हुदै सोलु दुधकुण्ड, सगरमाथा आधार शिविर सम्मको पदमार्ग, साईकलिङ रुट, म्याराथन रुट साथै ट्रायल म्यराथोन रुट सहितको नक्सा पनि सार्वजनिक गरेको छ ।