ओखलढुंगाको भुसने जंगलमा भिषण पहिरो खस्दा सडक अवरुद्ध भएको छ । बिहीबार देखिको अविरल बर्षाका कारण जिल्लाको मानेभन्ज्याङ गाउँपालिका–४ स्थित सिद्धिचरण लोकमार्गमा पर्ने भुसुनेको जंगलमा आज शुक्रबार बिहान ६ : ३० बजे सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
पहिरोका कारण अन्दाजी २५ मिटर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक बालिस्टर सिंहले भिजनलाई जानकारी दिए ।
सडक अवरुद्ध भएपछि ओखलढुंगा र सोलुखुम्बुबाट राजधानी काठमाडौं र तराईका जिल्लाका लागि छुटेका सयौं सवारी ओखलढुंगाको मिलनचोक रमाईलोडाँडा र भुसुने क्षेत्रमै रोकिएका छन् ।
पहिरोले सडक अवरुद्ध भएको क्षेत्रमा अस्थायी प्रहरी पोष्ट केतुकेबाट प्रहरी टोली खटिएको र अवरुद्ध सडक खुलाउनेबारे स्थानीय निकायसँग आवश्यक पहल भइरहेको छ ।
निरन्तरकोे वर्षाका कारण जिल्लाभरका ग्रामिण सडकमा पहिरोको जोखिम बढेको छ । अधिकांश सडक अवरुद्ध छन् ।
प्रतिक्रिया