नागरिकता लिन आरातीको दश बर्षे संघर्ष !

नागरिकता लिन आरातीको दश बर्षे संघर्ष !



आँखामा टिलपिल आँसु, मुहारमा खुशीको रंङ्ग अनि हातमा थियो नेपाली नागरिकता । ओखलढुंगाको चम्पादेवीकी आराती कार्की थापालाई १० बर्ष भन्दा लामो संघर्ष पछि नागरिकता पाउँदा कतिबेला खुसीको आँसु खसेछ थाहै भएन ।

आरातीले आफु नेपाली नागरिक बन्न बर्षौ देखि गरेको कठिन संघर्षले सफलता पाएको दिन थियो वि.सं २०८० श्रावण १९ गते शुक्रबार । जिल्ला प्रशासन कार्यालय ओखलढुंगाबाट शुक्रबार नागरिकता लिदै गर्दा उनि निकै हर्षित देखिन्थिन् ।

वि.सं २०७१ साल मंसिर १८ गते १७ बर्षको उमेरमै उनको चम्पादेवी गाउँपालिका–४ का युवराज थापासँग प्रेम विवाह भयो । विवाह भएको साल देखि नै उनले श्रीमानसँग आफुलाई नागरिकता बनाइदिन आग्रह गरिन् । उनका श्रीमान युवराजले केहि बर्षपछि बनाइदिन्छु भन्ने आश्वासन दिए ।

नागरिकता बनेँपछि केहि जागिर, पेशा, व्यवसाय गर्न सहज हुने र पछिसम्मको भविष्यलाई ढुक्क हुन्छ भन्ने आरातीको मनमा थियो ।
बर्षहरु बित्दै गए तर उनका श्रीमान युवराजले नागरिकता बनाइदिन कुनै सहयोग गरेनन्, उल्टै विभिन्न बहाना बनाउन थाले । कहिले अझै केहि बर्ष कुर भन्ने, कहिले सन्तान भएपछि बनाउनुपर्छ भन्ने जस्ता अड्को थाप्न लागे ।

वि.सं २०७४ भाद्र ११ सालमा छोरा जन्मियो । सन्तान भएपछि नागरिकता बनाइदिन्छु भनेको कुरा उनले श्रीमानलाई सम्झाइन्, तर पनि श्रीमानले आलटाल गरि नै रहे।

केहि बर्ष छोराको लालनपालनमा उनि व्यस्त भइन् । छोरा केहि हुर्केपछि उनले पटकपटक नागरिकताका लागि श्रीमानसँग अनुनय विनय गरिन् तर आरातीलाई नागरिकता बनाइदिने कुरामा युवराजले तत्परता देखाएनन् ।

व्यक्तिगत बिन्तीले भएन भनेर, तत्कालिन समयमा उनले वडा कार्यालयमा नागरिकता प्राप्तिका लागि पाउने सिफारिस लिन श्रीमानको सहयोगका लािग निवेदन दिइन् । वडा कार्यालयले पनि त्यो कुरामा वेवास्ता गरेको उनले भिजनलाई बताइन् । ‘पटकपटक वडा कार्यालय धाँए तर नत काम भयो नत मेरो कुरामा त्यो बेला जनप्रतिनिधि र कर्मचारीहरुले त्यस्तो चासो नै दिनुभयो । उल्टै घरै बस नागरिकता पाइहाल्छौ नि, किन आत्तिएको भन्नुहुन्थ्यो ।’ उनले भनिन् ।

तीन पटक भन्दा बढी समय निवेदन सहित वडा कार्यालय धाउँदा पनि नागरिकताका लागि पहल नभएपछि उनले छिमेकी पालिका सुनकोशी गाउँपालिका–९ को प्रहरी चौकी कोषभञ्ज्याङमा श्रीमान विरुद्ध निवेदन दिइन् ।

प्रहरी चौकीमा निवेदन दिएपछि पनि प्रहरीले बोलाएको छलफलमा कतिपटक श्रीमान नआएको उनले बताइन् । श्रीमानसँग सम्बन्धमा खटपटकाबिच उनि त्यो बेला माइतमा बस्दै आएकी थिइन् ।

नागरिकता प्राप्तिका लागि पनि उनि प्रयासरत थिइन् तर उनका श्रीमानले युवराजले २०७८ माग १९ गते ओखलढुंगा जिल्ला अदालतमा उनि विरुद्ध सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गरे । उनि करिब एक बर्ष पछि २०७९ पुष १८ त्यो मुद्धामा अदालतबाट सम्बन्धि विच्छेद नहुँने ठहर सहितको फैसला भयो । सम्बन्ध विच्छेदको मुद्धा उनले जितिन तर श्रीमानले फेरि उनलाई विपक्षी बनाई ओखलढुंगा जिल्ला अदालतमै अंश सम्बन्धि मुद्धा दर्ता गरेकोमा त्यो मुद्धा पनि उनले जितिन् ।

केवल नागरिकता पाउन श्रीमानलाई आग्रह गरेकी उनले श्रीमानबाटै सम्बन्ध विच्छेदको मुद्धा र अंश सम्बन्धि मुद्धा पनि लड्नुपर्यो । श्रीमान युवराजले आफु विरुद्ध दिएको मुद्धा लड्न उनलाई माइतीले आर्थिक र अन्य सहयोग गरको उनि बताउछिन् ।

माइतीले सहयोग गरे पनि मुद्धा लड्दाको समयमा धेरै आर्थिक नोक्सान भएको र कठिनाईहरु भोग्नुपरेको उनले सुनाइन् । ‘मैले त नागरिकता मात्र पाउनुपर्छ भनेकी थिएँ तर उल्टै उहाँले ममाथि सोँच्दै नसोचेको आरोप सहित मुद्धा लगाउनुभयो । अदालतले साँचो न्याय दियो । यसमा म खुसी छु । जे पाउनको लागि मैले संघर्ष गरे आज पाउँदा एकदमै खुसी लागेको छ ।’

आरातीका श्रीमान भन्छन्  : 
आरातीका श्रीमान युवराज थापाले भने श्रीमतीलाई नागरिकता दिने कुरामा आफुले कुनै बहानाबानी नगरेको बताए । आराती र आफुबिच प्रेम विवाह भएकोले उनले विवाह दर्ता गरिदिन र नागरिकता बनाइदिनु भनेर हतार गरेपनि आफुले केहि समयपछि बनाइदिने वचन दिएको उनि बताउँछन् ।

श्रीमती धेरै समय माइतमात्र बस्ने भएकाले आफुहरुको सम्बन्ध विवाहको केहि बर्ष पछि त्यति प्रगाड नबनेको उनको भनाई छ । सम्बन्धमा दरार आएको र श्रीमती आफुभन्दा लामो समय भिन्न बसेपछि सम्बन्ध बिच्छेदको मुद्धा दिएकोमा त्यो मुद्धामा आफु असफल भएको युवराजले भिजनसँग बताए ।

‘विवाहको केहि बर्षपछि हाम्रो सम्बन्ध त्यति राम्रो हुन सकेन । उनले मलाई विवाह दर्ता र नागरिकता बनाइदिनु भनेर दबाव दिइरहन्थिन । उनि धेरै माइतमा मात्र बस्ने भएकाले मैले सँगै बस अनि नागरिकता बनाइदिउँला भनेकै हो ।’ उनले भने, ‘वडा र प्रहरीमा पनि उनिसँग भएको छलफलमा हामी सँगै बस्ने कुरा भएको थियो । समहती अनुसारको व्यवहार भएन उनि माइतमात्र बसिन त्यसैले पनि केहि ढिलाई त भएको हो । तर अन्तिममा प्रशासन र प्रहरीबाट पनि फोन गरेर बोलाउनुभयो । बोलाएपछि त मैले गएर उनलाई नागरिकता बनाउन सहयोग गरेकै हो नि ।’ श्रीमतीको माग विवाह दर्ता र नागरिकता बनाइदिनु भन्ने रहेकोमा उनको माग आफुले पुरा गरेको युवराजले बताए । आफुहरु अहिलेसँगै नरहेको उनको भनाई छ ।

नागरिकता पाएपछि छोराको लालनपालन, शिक्षा दिक्षा र भविष्यका लागि आपफुलाई सहज हुने आरातीले बताइन् ।
नागरिकता पाउनका लागि आफुले करिब १० बर्ष संघर्ष गर्दा अन्तिममा सफलता प्राप्त भएको उनको भनाई छ । आरातीलाई नागरिकता दिलाउनेबारे सहयोग गरिदन प्रशासन र प्रहरीले समेत फोन गरेर उनका श्रीमान युवराजलाई बोलाउँदा एक पटक त उनि आएनन् ।

दोस्रो पटक प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी आफैले फोन गरेर बोलाए पछि मात्र उनि प्रशासन आएका थिए । आरातीलाई नागरिकता दिलाउन जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले पनि पहल गरेको थियो ।

विवाहपछि श्रीमानहरुले आवश्यक सहयोग र पहल नगरिदिँदा महिलाहरुलाई नागरिकता प्राप्त गर्न यस प्रकारका कठिनाई हुने गरेको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बताइन् । यो प्रतिनिधि घटना भएको तर यस्तो समस्याको धेरै महिलाले सामना गर्नु परिरहेको उनलको भनाई रहेको छ ।