ओखलढुंगामा असार मसान्तसम्म ५५.६३ प्रतिशत मात्र धान रोपाइँ भएको छ । रोपाइँका लागि उपयुक्त असार महिना सकिँदासम्म जिल्लामा यसवर्ष ५५.६३ प्रतिशत मात्र रोपाइँ भएको हो ।
गतसालको असार मसान्तसम्म ६५ प्रतिशत बढी रोपाइँ भएकोमा यस बर्ष ढिला गरि रोपाइँ भइरहेको कृषि ज्ञान केन्द्र ओखलढुंगाले जनाएको छ । यो बर्ष पर्याप्त बर्षा नहुँनु र लम्पी स्किनका कारण गोरु बिरामी पर्दा रोपाइँ प्रभावित भएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका बागबानी विकास अधिकृत टिका बानियाले बताए । ‘एक त पर्याप्त बर्षा भएको छैन अर्को लम्पी स्किनले गोरु थला परेका छन् । पोहोरको तुलनामा १० प्रतिशत कम रोपाइँ भएको छ । सबै ठाउँमा मिनिटिलरको सुविधा पनि छैन । गोरु बिरामी परेकै कारणले पनि यो बर्ष ढिला गरि रोपाइँ भइरहेको छ ।’ उनले भने ।
जिल्लाका पालिका अन्तर्गत कृषि विकास शाखाबाट प्राप्त विवरण अनुसार असारको अन्त्यसम्म रोपाइँ हुने आधा भूभागमा मात्रै रोपाई सकिएको कृषि ज्ञान केन्द्र ओखलढुंगाका बागबानी विकास अधिकृत बानियाले बताए ।
असारको मसान्तसम्म चम्पादेवी, लिखु र खिजीदेम्बा गाउँपालिकामा ६० प्रतिशत, सिद्धिचरण नगरपालिका, मोलुङ र सुनकोशी गाउँपालिकामा ५५ प्रतिशत रोपाइँ भएको छ । यस्तै चिशंखुगढी र मानेभञ्ज्याङ गाउँपालिकामा ५० प्रतिशत रोपाइँ भएको केन्द्रले जनाएको छ । जिल्लामा चार हजार चार सय १० हेक्टर क्षेत्रफलमा रोपाइँ हुने गरेको छ ।
रोपाइँका लागि प्रयोग हुने गोरु नै बिरामी पर्दा जिल्लामा रोपाइँ प्रभावित भएको छ ।
लम्पी स्किनबाट छ हजार बढी पशु संक्रमित हुँदा करिब तीन हजार गोरु बिरामी परेको भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र ओखलढुंगाका प्रमुख डा.सुशील अधिकारीले बताएका छन् ।
प्रतिक्रिया