पीडितलाई ‘होइस्टाइल’ नगराउन पैरवीले गरायो प्रहरी र प्रशासनको ध्यानाकर्षण

पीडितलाई ‘होइस्टाइल’ नगराउन पैरवीले गरायो प्रहरी र प्रशासनको ध्यानाकर्षण


भिजन समाचार
3k
Shares

ओखलढुंगामा यौनजन्य घटनाका पीडितलाई होइस्टाइल गराउन पीडक पक्षले विभिन्न प्रलोभन र धम्की दिएको तथ्य बाहिरीएको छ ।

जिल्लामा बलात्कार तथा यौनजन्य घटनामा पक्राउ परि धरौटीमा रिहा भएका पीडकले पीडित, पीडितका परिवार, आफन्त र साक्षीलाई डर–त्रास, धम्की तथा प्रलोभन देखाई थप पिडा दिएको तथ्य बाहिरिएको हो ।
पीडकले थप पिडा भएको गुनासो आएपछि पैरवी सञ्जाल ओखलढुंगाले आइतबार ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारी र जिल्ला प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक दिपक बहादुर केसीको ध्यानाकर्षण गराएको छ ।
जिल्लास्थित क्रियाशील पत्रकार, विभिन्न संघ–संस्थाका प्रमुख एवम् प्रतिनिधि, मानव अधिकार क्षेत्र सेवा केन्द्र (इन्सेक) प्रतिनिधि सहितको टोलीले प्रजिअ कुमारी र प्रनाउ केसीलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

ध्यानाकर्षण पत्रमा लेखिएको छ, ‘पछिल्ला दिनहरुमा ओखलढुंगा जिल्लाभित्र भएका बलात्कार तथा यौनजन्य हिंसाको घटनामा वृद्धि हुनुको साथै त्यससंग सम्बन्धित विभिन्न किसिमका समस्याहरु समाजमा देखिन थालेका छन् ।

जिल्ला पैरवी सञ्जालको बैठकमा भएको छलफलमा समेत यस्ता यौन हिंसासँग सम्बन्धित घटनामा पीडित झनै समस्यामा परेका केही तथ्यहरु प्राप्त भएका छन् ।
यौनहिंसा लगायतका घटनामा आरोपितलाई पक्राउ गरि मुद्दा चलाइएको अवस्थामा अदालतबाट अन्तिम फैसला हुनुपूर्व धरौटीमा छुटेका आरोपितले समाजमा फर्किसकेपछि उल्टै पीडित र पीडितका आफन्त तथा परिवारलाई डर त्रास, धम्की, प्रलोभनमा पार्न खोजी थप पीडा दिएको गुनासो आउन थालेका छन्।
नेपालको संविधान २०७२ को मौलिक हक र कर्तव्य अन्तर्गत धारा २१ मा अपराध पीडितको हक सुनिश्चित गरिएको छ । यस्ता घटनाको अन्तिम फैसला नआएसम्म पीडित र उनका परिवार तथा साक्षीहरुको सुरक्षा गर्नु राज्यको दायित्व हो ।

तर ओखलढुंगामा यी गम्भीर प्रकृतिका घटनामा यस्ता गुनासो आउनु दुःखद छ । जसका कारण पीडितहरु थप पीडामा परि उचित न्याय पाउनबाट वञ्चित हुनुको साथै मानसिक समस्यामा समेत पर्ने जोखिम बढेको छ । आरोपितहरुले पीडित, पीडितका परिवार तथा साक्षीहरुलाई विभिन्न धम्की दिने तथा प्रलोभनमा पार्न खोजेको भन्ने गुनासो आएको, कतिपय घटनामा प्रहरीको तर्फबाट समेत भएका कमजोरीहरुलाई सच्याइ बलात्कार तथा यौनजन्य हिंसाका घटनाका पीडित, पीडितका परिवार तथा साक्षीहरुको समेत उचित सुरक्षाको व्यवस्थाका लागि ध्यानाकर्षण गराउदछौं ।’ पैरवीले पीडित झन् पिडामा पर्नेगरि आएका प्रलोभन, दबाव र धम्कीलाई सामान्य रुपमा नलिन आग्रह गरेको छ ।

ध्यानाकर्षणपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी कुमारी तथा प्रनाउ केसीले यस घटनाबारे आफुहरुको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।
तत्काल छानबिन गरि पीडितलाई ‘होइस्टाइल’ गराउन डर, धम्की र प्रलोभन दिएको पाइएमा कानुन अनुसार पीडकलाई थप कारबाही प्रक्रिया अघि बढाउने प्रतिवद्धता जनाएका छन् ।

त्यस्तै पैरवीले पहिरोजन्य घटना रोकथाम, पुर्वतयारी, राहत उद्धार र प्रतिकार्यमा स्थानीय विपद व्यवस्थापन समिति सक्रिय एवम् चलायमान नहुँदा उद्दार तथा राहत वितरणमा सुस्तता देखिएको भन्दै त्यसतर्फ पनि ध्यानाकर्षण गराएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारीले विपदका घटनामा स्थानीय सरकार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै यसबारे आवश्यक छलफल तथा समन्वय गर्ने बताएकी छन् ।