व्यवसायिक बाख्रा पालन तर्फ किसान आकर्षित

व्यवसायिक बाख्रा पालन तर्फ किसान आकर्षित



ओखलढुंगा । पछिल्लो सयम बाख्रा पालक किसान व्यवसायिकता तर्फ उन्मुख भएका छन् । परम्परागत कृषि पद्धति बाट मनग्गे आम्दानी नभए पछि कृषकहरु आधुनिक बाख्रा पालन व्यवसाय तर्फ आकर्षित भएका हुन् ।
परम्परागत शैलिमा बाख्रा पाल्दै आएका चम्पादेवी गाउँपालिका–१ पलापु डाँडागाउँका गोपाल श्रेष्ठले अहिले बाख्रा पाल्ने खोरको ब्यापक सुधार गरेका छन् । आधुनिक खोर बनाई बाख्रा पाल्दा राम्रो बृद्धि भएको श्रेष्ठले बताए । उनले अहिले ४० वटा बाख्रा पालेका छन् ।
सोही स्थानका घनबहादुर श्रेष्ठले पनि बाख्राका लागि आधुनिक खोर बनाएका छन् । आधुनिक खोरमा बाख्रालाई घाँस–पानी दिन सहज, घाम पानीबाट ओतको राम्रो व्यवस्था र सरसफाईका लागि सजिलो हुने गरेको उनिहरुको अनुभव छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वय एकाई ओखलढुंगा मार्फत जिल्लाको तीन स्थानिय तहमा बाख्रा जोन कार्यक्रम सञ्चालन गरेको छ । मानेभञ्ज्याङ, सुनकोशी र चम्पादेवी गाउँपालिकाको केही वडामा कार्यक्रम लागु गरिएको छ । बाख्रा जाेनमा करिब १५० व्यवसायिक किसान अवद्ध छन् ।  आर्थिक वर्ष २०७९÷०८० मा परियोजना मार्फत जिल्लामा २५ वटा बाख्रा पालक किसानले अनुदान लिएका छन् ।कार्यक्रम मार्फत बाख्रा पालक किसानलाई खोर सुधार, नस्ल सुधार, रोग व्यवस्थापन र बजारिकरणका लागि तालिम तथा अनुदान सहयोग गर्ने गरिएको परियोजना प्रमुख वरिष्ठ कृषि अधिकृत कृष्ण प्रसाद पौडेलले बताए । आधुनिक बाख्रा खोर निर्माण गर्न किसानलाई एक लाख २८ हजारका दरले अनुदान उपलब्ध गराईएको प्रमुख पौडेलको भनाई छ ।
चम्पादेवी गाउँपालिका–१ पलापुका अनुदान प्राप्त गर्ने तीन जना किसानले बनाएका खोरको अनुगमन गरिएको छ । जिल्ला समन्वय समिति उप–प्रमुख तारादेवी कार्की, भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका प्रमुख डा. सुशील कुमार अधिकारी, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख भुपेन्द्र बहादुर मल्ल, कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ गणेश अधिकारी र घरेलु तथा साना उद्योग कार्यालयका प्रतिनिधि लगायतको समूहले अनुगमन गरेको कार्यालयले जनाएको छ ।
परियोजना मार्फत ओखलढुंगामा बाख्रा, आलु र सोलुखुम्बुमा स्याउ ओखर, किवी जोन कार्यक्रम सञ्चालन भएका छन् । केहि वर्ष भित्र ओखलढुंगा मासुमा आत्मनिर्भर बन्ने बताईएकाे छ ।