बलखुमा प्रसस्त आँप उत्पादन, बजारकाे अभाव

बलखुमा प्रसस्त आँप उत्पादन, बजारकाे अभाव


भिजन समाचार
18.9k
Shares

ओखलढ‌ुंगा । ओखलढुंगाको सुनकोशी गाउँपालिका–१ बलखुमा आँप उत्पादन सुरु भएको छ । बलखुमा लगाईएको १५ हजार आँप मध्ये यस वर्ष करिब पाँच हजार बोटमा आँप फेलका छन् । पाक्न थालेका आँपले बजार र मुल्य नपाउदा किसान चिन्तित बनेका छन् ।
अहिले माल्दा आँप प्रति किलो ३०–४० रुपैयाँका दरले विक्रि वितरण भईरहेको बलखुबेसीका सन्देश लुईटलको भनाई छ । उत्पादन भएको आँप विक्रिका लागि बजार र बजारीकरणको समस्या रहेको लुईटेलले बताए । आँप किन्न बाहिरकाे फलफूल व्यापारीहरु अहिले सम्म त्यस ठाउँमा नपुगेकाे लुईटेलकाे भनाई छ ।
बजार व्यवस्थापनमा स्थानीय तह अग्रसर हुनुपर्ने कृषि ज्ञान केन्द्र ओखलढुंगाका निमित्त कार्यालय प्रमुख हेमबहादुर आलेले बताए । गाउँपालिकाले बजार व्यवस्थापनका लागि पहल गरिरहेको सुनकोशी गाउँपालिका वडा नं. १ का वडाअध्यक्ष तथा प्रबक्ता प्रकाश सापकोटाले बताए । आँप संकलन केन्द्र र चिस्यान केन्द्र साथै यातायातको साधनको व्यवस्था गर्नुपर्ने आवश्यकता देखिएको र यसका लागि योजना बनाईएको वडा अध्यक्ष सापकोटाले जानकारी दिए ।
माल्दा, कलकत्ते, बम्बई, आम्रपाली जातका १५ हजार आँपका कलमी बिरुवा रोपिएको मध्ये पाँच हजार बोट आँप फल्न थालेका हुन् । आर्थिक वर्ष २०७३÷०७४ देखी आँप पकेट कार्यक्रम मार्फत व्यवसायिक आँप खेती गर्न थालिएको थियो । अहिले आँप ब्लक कार्यक्रम लागु भएको छ । कृषि ज्ञान केन्द्र ओखलढुंगाको सहयोगमा विभिन्न कृषि सहकारी संस्था, कृषक समूहहरु मार्फत करिब एक सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यवसायिक आँप खेती गरिएको छ ।
ब्लक कार्यक्रम मार्फत दुई वर्ष अघि रोपिएको १० हजार आँपको विरुवा हुर्किने क्रममा रहेको सुनकोशी गाउँपालिका वडा सदस्य डुण्डिराज पहाडीले बताए । एक घरधुरीले कम्तिमा १० देखि दुई सय बोटसम्म रोपेर तीन सय घरधुरीले व्यवसायिक आँप खेती गरेको मिलिजुली कृषि सहकारी संस्था लिमिटेडका प्रबन्धक दुर्गाहरी जेरोले जानकारी दिए ।
सुनकोशी गाउँपालिकाको बलखुबेसी, सिमलचौउर, बलखुगाउँ, आम्बोट, साँधी, भिरगाउँ लगायतका क्षेत्रमा रोपिएको आँपका सबै बोटले उत्पादन दिन थालेपछि पहाडी जिल्ला ओखलढुंगा, खोटाङ र सोलुखुम्बु सम्म आँपको माग धान्न सक्ने कृषि ज्ञान केन्द्रका बागबानी विकास अधिकृत टिकाराम बानियाको भनाई छ । बलखुमा यसै वर्ष २५० मेट्रिक टन भन्दा बढी आँप फलेको अनुमान गरिएको बानियाले बताए ।
ओखलढुंगा सदरमुकाम बजारमा हाल प्रतिकिलो करिब १०० को दरले आँप विक्रि वितरण भईरहेको छ । आँपको सिजनमा करिब ५० लाख रुपैयाँको आँप बाहिरि जिल्लाबाट आयात हुने गरेको अनुमान छ ।