ओखलढुंगा । सवारी दुर्घटना न्युनिकरणको लागि गाउँ गाउँमा ट्राफिक सचेतना कार्यक्रम गरिने जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायब उपरिक्षक दिपक बहादुर केसीले बताए । सडक अनुशासन र सवारी दुर्घटना न्यूनीकरणको लागि जिल्लाको सम्पुर्ण स्थानिय तहका गाउँ–गाउँमा पनि ट्राफिक सचेतना अभियान सुरु गरिने प्रहरी नायब उपरिक्षक केसीको भनाई छ ।
विभिन्न स्थानिय तहका ग्रामिण क्षेत्रमा सधैका लागि ट्राफिक प्रहरीको व्यवस्था गर्न नसकिए पनि समय समयमा ट्राफिक सचेतना र चेक जाच गर्ने कार्यक्रम लागु गरिने केसीले जानकारी दिए । पछिल्लो समय ग्रामीण क्षेत्रका गाउँहरुमा ट्राफिक नियमको उल्लङ्घन गरी सवारी दुर्घटना बढ्न थाले पछि गाउँ–गाउँमा सचेतना अभियानको आवश्यकता रहेको केसीको भनाई छ ।
सवारी दुर्घटना न्युनिकरणका लागि नागरिक आफैले पनि सावधानी अपनाउन आवश्यक रहेको सिद्धिचरण नगरपालिकाका उपप्रमुख केदारबाबु बस्नेतले बताए । दुर्घटना बाट जोगिन तथा सडक अनुशासन पालना गर्न नागरिक सचेत हुन आवश्यक रहेको उपप्रमुख बस्नेतको सुझाव छ ।
सडक अनुशासन तथा सवारी दुर्घटना न्युनिकरणका लागि विभिन्न कार्यक्रम गरि ट्राफिक सप्ताह मनाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी सहायक निरिक्षक होमबहादुर खतिवडाले बताए । चालकलाई लेनको प्रयोग, साईड लाईटको प्रयोग र आश्यकता, विद्यालयमा ट्राफिक नियम सम्बन्धी कक्षा सञ्चालन, गाउँ गाउँमा ट्राफिक प्रहरी अभियान, चालकको स्वास्थ्य परिक्षण, सवारीको यन्त्रिक चेकजाँच साथै किट मार्फत सवारी चालकले लागु पदार्थ सेवन गरे नगरेको परिक्षण गरि ट्राफिक सप्ताह मनाईएको खतिवडाले जानकारी दिए । ओखलढुंगा सहित कोशी प्रदेशको १४ वटै जिल्लामा गत असार १९ गते देखी विभिन्न सचेतनामुलक कार्यक्रम गरी ट्राफिक सप्ताह मनाईएको थियो ।
प्रतिक्रिया