ओखलढुंगा । पहिरोको जोखिममा रहेको चम्पादेवी गाउँपालिका–८ विलन्दुको जोखिमयुक्त बस्ती सुरक्षित स्थानमा स्थान्तरण गर्न पहल गरिएको छ । गत असार ७ गते राती गाउँ माथि बाट आएको पहिरोले घर पुरिदा एकै परिवारका चार जनाको ज्यान गएको थियो ।
दर्जन बढी घरहरु पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको उच्च जोखिममा परेको विलन्दुको बस्ती सुरक्षित स्थानमा सार्न पहल भईरहेको गाउँपालिका अध्यक्ष नवराज केसीले बताए । यसका लागि संघ, प्रदेश, जिल्ला प्रशासन र सरोकारवाला निकायमा पहल गरिएको गाउँपालिका अध्यक्ष केसीको भनाई छ ।
जोखिमयुक्त बस्तीको भौगोलिक अवस्था परिक्षणका लागि गृह मन्त्रालयमा पत्राचार गरिएको प्रमुख जिल्ला अधिकारी प्रदर्शनी कुमारीले बताईन् । विलन्दुको पहिरोको जोखिममा रहेको भनिएको बस्तीको अध्ययन गर्न भूगर्वविद् माग गरिएको प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समिति संयोजक कुमारीले जानकारी दिईन् ।
भूगर्वविद्को अनुगमन पश्चात बस्ती स्थान्तरण गर्ने नगर्ने निश्कर्ष निकालिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ । विलन्दुका करिब चार सय घरहरु पहिरोको जोखिममा रहेको गाउँपालिकाले जनाएको छ ।
प्रतिक्रिया