ओखलढुंगा । ओखलढुंगामा उपभोग्य समय सकिएका अखाद्य सामाग्रिको विक्रि वितरण रोकिएको छैन । केही महिना अघि सिद्धिचरण नगरपालिका–११ रमाईलोडाँडा र सदरमुकाम बजार क्षेत्रमा गरिएको बजार अनुगमनमा भारी मात्रामा म्याद गुज्रिएका अखाद्य सामाग्रि फेला पारिएको थियो ।
शुक्रबार सिद्धिचरण नगरपालिका वडा नं.४ रुम्जाटार र वडा नं.५ सानिटारमा गरिएको बजार अनुगमनमा महिनौ अघि उपभोग्य समय सकिएका चिजबल, चाउचाउ, चकलेट, बिस्कुट लगायतका सामाग्रि फेला परेका छन् ।
जिल्ला प्रशासन कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, करदाता सेवा कार्यालय, सिद्धिचरण नगरपालिका, प्रहरी र पत्रकार सहितको टोलीले १५ वटा पसलमा गरेको अनुगमनमा २४ हजार ६४५ रुपैयाँ बराबरको म्याद सकिएका सामाग्रि फेला परेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत रेवन्त दाहालले बताए । अधिकांश बालबालिकाले खाने चिजबल, चाउचाउ, बिस्कुट, कुरमुरे, चकलेटहरुमा उपभोग्य समय सकिएको पाईएको दाहालको भनाई छ ।
यसका साथै म्याद गुज्रिएका चिउरा, मैदा, मसला, कोक, डिउ लगायतका पेयपदार्थ व्यापारीले विक्रिका लागि राखेको पाईएको थियो । अनुगमनका क्रममा भेटिएका म्याद गुज्रिएका अखाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको छ । समय समयमा ओखलढुंगा सदरमुकाम आसपासका बजार अनुगमन गर्ने गरिएकाे छ ।
प्रतिक्रिया