हाते ट्याक्टर प्रति किसानकाे आकर्षण बढ्दो

हाते ट्याक्टर प्रति किसानकाे आकर्षण बढ्दो


भिजन समाचार
2.8k
Shares

ओखलढुंगा । जिल्लामा आधुनिक कृषि यन्त्र प्रति किसानको आकर्षण बढ्दै गएको पाइएको छ । यहाँका किसान पछिल्लो समय खेत जोत्न, धान चुट्न, गहुँ काट्न, मकै छर्ने लगायतका काममा आधुनिक कृषि यन्त्र (हाते ट्याक्टर, थ्रेसर)को प्रयोग गर्न थालेका छन् ।
काम पनि चाँडो हुने तथा श्रम पनि कम खर्च हुने भएकाले किसानहरु उक्त यन्त्रप्रति बढी आकर्षित भएका हुन् ।

गोरुले जोत्नु भन्दा हाते ट्याक्टरले खेत जोत्न छिटो तथा सजिलो हुने भएकाले किसानको आधुनिक कृषि यन्त्रप्रति दिन प्रतिदिन आकर्षण बढ्दै गएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताए । गाउँघरमा गोरु पाल्नेहरुको संख्या कमि हुन थालेको छ खेत बारी जोत्न हाते ट्याक्टर प्रति किसानको आकर्षण र माग बढेको मेयर खनालको भनाई छ । सिद्धिचरण नगरपालिकाले चालु आर्थिक वर्षमा २१ जना किसानलाई हाते ट्याक्टर हस्तान्तरण गरेको छ । नगरपालिकाको कृषि विकास शाखा मार्फत मकै प्रवद्र्धन कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा किसानहरुलाई हाते ट्याक्टर हस्तान्तरण गरिएको हो ।
कृषि विकास शाखाले विनियोजन गरेको दश लाख बजेटले हाते ट्याक्टर खरिद गरेर किसानलाई हस्तान्तरण गरिएको कृषि शाखाका नायब प्राविधिक सहायक भिम बहादुर दर्जीले जानकारी दिए ।

लम्पी स्किन रोगका कारण खेत रोपाई गर्ने समयमा गोरु थला परेको समयमा हाते ट्याक्टर प्राप्त हुदा किसान हर्षित भएका छन् । किसानलाई आधुनिक खेति तर्फ आकर्षित गर्न नगरपालिकाले वर्षेनी विभिन्न प्रकारका आधुनिक कृषि उपकरणहरु अनुदानमा उपलब्ध गराउदै आएको छ ।