सिद्धिचरण नगरपालिकाको बजेट ६८ करोड ५६ लाख ९९ हजार

सिद्धिचरण नगरपालिकाको बजेट ६८ करोड ५६ लाख ९९ हजार


भिजन समाचार
0
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ६८ करोड ५६ लाख ९९ हजार ३ सय रुपियाँ बजेट सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०८०÷०८१ को लागि निति तथा कार्यक्रम कार्यन्वयन गर्नका लागि नगरपालिकाको १२ औँ नगरसभामा उपमेयर केदारबाबु बस्नेतले उक्त बजेट सार्वजनिक गरेका हुन् ।
आगामी आर्थिक वर्षको लागि अनुमान गरिएको खर्च व्यहोर्ने श्रोत मध्ये नगरपालिकाको आन्तरिक आय एक करोड ५० लाख र मालपोत कार्यालयबाट घर जग्गा रजिष्ट्रेशन दस्तुर बाडफाड बाट ६५ लाख, राजश्व बाडफाड संघिय सरकार बाट नौ करोड ८७ लाख तीन हजार तीन सय रहेको छ । यसका साथै सवारी साधन कर प्रदेश सरकार ८५ लाख ९३ हजार, संघिय सरकारबाट वित्तिय समानिकरण अनुदान, समपुरक अनुदान, विशेष अनुदान र शसर्त अनुदान गरी ४९ करोड ८८ प्राप्त हुने अनुमान गरिएको छ । प्रदेश करकारबाट वित्तिय समानिकरण, समपुरक र शसर्त अनुदान गरी तीन करोड ३१ लाख तीन हजार र बाँकी नपुग रकम मौज्दातबाट दुई करोड ५० लाख व्यहोर्ने गरी बजेत सार्वजनिक गरिएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षमा ५३ लाख ३६ हजार रकम जोगाउने गरी चालु तथा प्रशासनिक खर्चमा मितव्ययीता अपनाउने भएको छ । चालु आर्थिक वर्षमा चालु तथा प्रशासनिक खर्चमा ११ करोड ९१ लाख ३२ हजार आठ सय ६० रुपैयाँ विनियोजन भएकोमा आगामी वर्षका लागि ११ करोड ३७ लाख ९६ हजार मात्र विनियोजन गरिएको उपमेयर केदारबाबु बस्नेत मार्फत सार्वजनिक बजेटमा उल्लेख गरिएको छ ।
नगरपालिकाले कृषि, पशुपञ्छी, शिक्षलाई प्राथामिकतामा राखेर निति तथा कार्यक्रम ल्याएको छ । कृषि उपज बजार सम्म पु¥यान कृषि एम्बुलेनसको व्यवस्था गर्ने, बुङको आलु उत्पादन प्रोत्साहन र भण्डारण साथै बजारीकरण गर्ने, नगदेबालिहरु प्याज, लसुन लगायत अन्य नगदेबाली उत्पादन गरी आयात प्रतिस्थापन गर्ने निति तथा कार्यक्रम ल्याईएको सिद्धिचरण नगरपालिकाका मेयर तेजेन्द्र खनालले बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, पुर्वाधार निर्माण जस्ता आधारभूत विषयलाई प्राथमिकता दिएर काम गर्ने योजना समेत रहेको मेयर खनालको भनाई छ । नगरसभाका सदस्यले ओखलढुंगा सदरमुकाममा ढल व्यवस्थापन, शिक्षामा दलितलाई विशेष सहयोग, फोहोर सङ्कलन निजि क्षेत्रलाई दिनु पर्ने, सवारी साधन पार्किङको व्यवस्थापन, खानेपानी, सरसफाई, शिक्षा, स्वास्थ्य, लक्षित वर्गका कार्यक्रम प्रभावकारी गराउनु पर्ने र पर्यटकीय क्षेत्रको विकास लगायतको क्षेत्रमा नगरपालिकाले ध्यान दिनुपर्नेमा जोड दिनुभएको छ । सिद्धिचरण नगरपालिका सँगै जिल्लाको सुनकोशी, लिखु, मोलुङ, खिजिदेम्बा, चिशंखुगढी, मानेभञ्ज्याङ गाउँपालिकाले पनि आर्थिक वर्ष २०८०÷०८१ का लागि निति तथा कार्यक्रम साथै बजेट ल्याएका छन् ।