ओखलढुंगा । ओखलढुंगाको मोलुङ गाउँपालिकाका तत्कालिन उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहित ११ जना विरुद्ध अख्तियारले मुद्दा चलाएको छ । मोलुङ गाउँपालिका वडा नं. २ स्थित काफलबोट देखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको आरोपमा अख्तियारले विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
काफलबोट देखि होल्पु मिसन हस्पिटलसम्म नयाँ सडक निर्माण योजनामा किर्ते गरी नक्कली फाइल खडा गरी अनियमितता गरेको विषयमा अनुसन्धान हुँदा राष्ट्रिय पुनः निर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन इकाई, (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार), ओखलढुंगाले निर्माण गरेको मेसिनरी वाल र सडक देखाई उपभोक्ता समितिले निर्माण गरेको भनी गैरकानूनी लाभ प्राप्त गर्ने उद्देश्यले गलत नापी किताब, भुक्तानी बिल र कार्य सम्पन्न प्रतिवेदनहरु तयार गरी-गराई, स्वीकृत गरी ३ लाख ८२ हजार ५० रुपैंया हानी पु¥याउन बदनियतपूर्वक भुक्तानीसमेत गरेको देखिएपछि विशेष अदालतमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उक्त भ्रष्टाचार कसुरमा संलग्न भएको ठहर गर्दै अख्तियारले मोलुङ गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सन्तोष श्रेष्ठ, इन्जिनियर माधव निरौला, असिस्टेन्ट सब–इन्जिनियर शिवप्रसाद अधिकारी, उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र राई, सचिव भक्तराज राई र कोषाध्यक्ष ननमाया राई, वडाअध्यक्ष टंकबहादुर कार्की, तत्कालीन उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक हेमकुमारी तामाङ, तत्कालीन वडा सदस्य ओमबहादुर राई, लेखा अधिकृत प्रवल घिमिरे र योजना शाखा प्रमुख (ना.सु.) वोदन के.सी.लाई प्रतिवादी बनाई सजायको मागदाबी समेत गरेको छ ।
अख्तियारले आरोप पत्रमा प्रतिवादीलाई कैद र जरिवानासमेतको मागदाबी गरेको छ ।
प्रतिक्रिया