ओखलढुंगा । कोशी प्रदेश स्तरीय मुख्यन्त्री कप फुटबल प्रतियोगिता असार ४ गतेदेखि ओखलढुंगामा हुने निश्चत भएको छ । प्रदेश खेलकुद विकास बोर्ड कोशी प्रदेशको आयोजनामा ओखलढुंगामा यहि असार ४ गतेदेखि ९ गतेसम्म जिल्ला सदरमुकामको खेल मैदानमा प्रतियोगिता हुने भएको हो ।
बुधबार सुनसरीको इटहरीमा बोर्डका सदस्य सचिव हंशराज वाग्लेले पत्रकार सम्मेलन मार्फत प्रतियोगिताबारे जानकारी दिएका छन् । माथिल्लो सगरमाथा क्षेत्रमा पहिलो पटक प्रदेश स्तरीय प्रतियोगिता हुने भएकाले सबैको सहयोग आवश्यक रहने बताए ।
प्रतियोगिताले समग्र खेल क्षेत्रमा टेवा पुग्नुको साथै पर्यटन प्रवद्र्धनमा समेत महत्वपूर्ण भुमिका खेल्ने भएकाले प्रतियोगिता सफल बनाउन सहयोग गर्न अध्यक्ष वाग्लेले आग्रह गरेका छन् ।
प्रतियोगितामा कोशी प्रदेशका १४ जिल्लाको सहभागिता रहनेछ । ओखलढुंगामा पहिलोपटक हुन लागेको प्रतियोगिताको विजेताले नगद २ लाख, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेताले नगद १ लाख ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
त्यस्तै, प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद ५ हजार रुपैयाँ प्रदान गरिने बोर्डले जनाएको छ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, गोलरक्षक, मिडफिल्डर, फरवार्ड, प्रशिक्षक र उच्च गोलकर्तालो पाँच हजार रुपैयाँ र ट्रफी पाउने छन् ।
प्रतियोगितामा खेलाडी, अफिसियल तथा निर्णायक गरेर ३०० जना ओखलढुंगा आउने बोर्डले जनाएको छ ।
प्रतियोगिताका लागि बोर्डले ३० लाख रुपैयाँ विनियोजन गरेको छ ।
यसअघि बोर्ड र मन्त्रालयबिचको विवादका कारण जेठ १ गते हुने भनिएको प्रतियोगिता स्थगित भएको थियो ।
प्रतियोगिता सञ्चालन हुने निश्चित भएसँगै जिल्ला खेलकुद विकास समिति ओखलढुंगाले तयारीलाई तिब्रता दिएको छ । खेल मैदान तयारी सँगै अन्य व्यवस्थापनको तयारी गरिएको समितिका अध्यक्ष प्रविण श्रेष्ठले जानकारी दिए ।
पहिचान पक्षधरको चेतावनी
ओखलढुंगाका पहिचान पक्षधरका अगुवाले मुख्यमन्त्री कप विथोल्ने चेतावनी दिएका छन् । कोशी नामाकरणको विरोध गर्दै आएको प्रदेश १ पूनः नामाङ्कन संयुक्त संघर्ष समितिले विज्ञप्ती निकालेर मुख्यमन्त्री कपमा मुख्यमन्त्रीसहितका मन्त्री, सांसद र प्रदेश सरकारका उच्चपदस्त व्यक्तिहरुलाई कार्यक्रममा नआउन–नल्याउन, कार्यक्रमको प्रचारसामाग्री र मुख्यमन्त्री कपको उद्घाटन र समापनको ब्यानरमा प्रदेशको नाम कोशी नलेख्न आग्रह गरेको छ । संघर्ष समितिले आफ्नो माग पुरा नभए खेल विथोल्ने चेतावनी दिएको छ ।
प्रतिक्रिया