ओखलढुंगा । सुनकोशी गाउँपालिकाले फजुल खर्च कटौती गरेको छ । गाउँपालिकाले अतिथी सत्कारमा चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा मात्र २३ हजार खर्च गरेको पाईएको छ । गाउँपालिकाले करिब एक वर्षको अवधिमा गाउँपालिकाले अतिथी सत्कार वापत मात्र २३ हजार खर्च गरेको छ ।
‘अतिथी सत्कारका लागि गाउँपालिका बाट पाँच लाख रुपैयाँ विनियोजन गरिएको थियो,’ गाउँपालिका अध्यक्ष कमल तामाङले बताए । ‘पाँच लाख मध्ये मात्र २३ हजार खर्च भएको छ,’ अध्यक्ष तामाङले भने ‘अझै चार लाख ७७ हजार खातामा छ ।’ विगतका वर्षहरुमा अतिथी सत्कारका लागि लाखौँ खर्च गर्ने परिपाटीलाई सुधार गरिएको अध्यक्ष तामाङले बताए । ‘यसै वर्ष गाउँपालिका कार्यालयमा सयौँको सङ्ख्यामा अतिथीहरु आएका थिए, मेरो निजी घरमा व्यवस्थापन गरेर राखे, गाउँपालिकालाई आर्थिक भार दिईन,’ उनको भनाई छ ।
गाउँपालिका बाट हुने खर्च व्यवस्थापन गर्दै भ्रष्टाचार अन्त्य गर्ने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष तामाङले बताए । आफ्नो कार्यकालमा भष्टाचार मुक्त गाउँपालिका बनाउने लक्ष्य रहेको तामाङको भनाई छ । गाउँपालिका बाट सञ्चालन भएका प्रत्येक विकास निर्माण तथा गतिविधिहरुमा कडा निगरानी र खबरदारी गरि भ्रष्टाचार निवारणमा सहयोग गर्न सरोकारवालाहरुलाई अध्यक्ष तामाङले आग्रह गरेका छन् ।
प्रतिक्रिया