ओखलढुंगामा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू, ३ सय बढी प्रहरी परिचालन


ओखलढुंगामा बुधबार देखि विशेष चाडपर्व लक्षित सुरक्षा योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले दशैँ, तिहार लागयतका चाडपर्वलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागु गरेको हो ।

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन जिल्ला प्रहरी कार्यालय सहित जिल्लाका सबै प्रहरी युनिटमा सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक राजबाबु महर्जनले बताए ।

चाडपर्वमा हुनसक्ने सम्भावित घटना, दुर्घटना तथा अपराधिक गतिविधि रोक्न र सुरक्षा व्यवस्थालाई चुस्त मजबुत बनाउन विशेष सुरक्षा योजना बनाएर लागु गरिएको र तीन सय बढी प्रहरीसँगै सादा पोशाकमा समेत प्रहरी परिचालन गरिएको प्रनाउ महर्जनको भनाई छ ।

यसका साथै चार्डपर्वहरूलाई लक्षित गरि जिल्लाका दुई स्थानमा यात्रु सहायता कक्ष स्थापना गरि सञ्चालनमा ल्याइएको उनले बताए । सदरमुकामको रमाइलोडाँडा र मानेभन्ज्याङको हर्कपुरमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ ।

सडक सुरक्षा तथा सवारी दुर्घटना न्युनिकरण, ट्राफिक व्यवस्थापन, सवारी चालक, यातायात व्यवसायी र आम सर्वसाधारणमा सहजताको लागि यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरी नायव उपरिक्षक महर्जनले बताए ।

चाडपर्वमा आपराधिक क्रियाकलाप बढ्न सक्ने भएकाले त्यसतर्फ सबैले चनाखो भएर लाग्न तथा आफ्ना घर, छिमेकमा त्यस्ता गतिविधि भएमा वा हुने सङ्केत देखिएमा तत्काल नजिकको प्रहरी युनिटमा वा निःशुल्क नम्बर १०० मा खबर गर्न समेत ओखलढुंगा प्रहरीले आग्रह गरेको छ ।

चाडपर्वका क्रममा लामो समय घरबाहिर जाने नागरिकलाई आफ्नो घर खाली रहेको सूचना सामाजिक सञ्जालमा सार्वजनिक नगर्न समेत प्रहरीले आग्रह गरेको छ । नक्कली नोटको कारोबार, अनलाइन ठगी हुनसक्ने भएकाले सजग रहन, मादक पदार्थ, जुवातास, झैझगडा लगायतका सामाजिक विकृति हुने कार्य समेत नगर्न नगराउन जिल्ला प्रहरी कार्यालय ओखालढुंगाले आग्रह गरेको छ ।