विवादकै बीच बलमिच्याइँ गर्दै लिखुखोलामा आयोजनाको काम अघि बढाउन खोज्ने पिके हाइड्रोलाई खिजीदेम्बा गाउँपालिकाले सचेत गराएको छ । गाउँपालिकाले स्थानीय नागरिकका गुनासा, क्षति तथा वातावरणीय जोखिमको दीगो समाधान नगरी ३० मेगावाट क्षमताको लिखु खोला जलविद्युत् आयोजना अघि नबढाउन निर्देशन दिएको हो ।
गाउँपालिकाले आयोजना प्रवद्र्धक पिके हाइड्रोपावर लिमिटेडलाई पत्र पठाउँदै आयोजना निर्माण तथा पुनः सञ्चालनसम्बन्धी कुनै पनि काम तत्काल अघि नबढाउन स्पष्ट निर्देशन दिएको हो ।
खिजीदेम्बा र रामेछापको उमाकुण्ड क्षेत्रबीच रहेको लिखु नदीमा ३० मेगावाटको आयोजना निर्माण विवादका कारण केही समयदेखि स्थगित रहेको थियो । आयोजनाले भाद्र १५ गतेदेखि निर्माण कार्य अघि बढाउने र भाद्र ५ गते छलफलमा सहभागि हुन भन्दै पालिकालाई भाद्र ३ गते पत्रचार गरेको थियो ।
गाउँपालिकाले २ दिनको म्याद राखेर छलफल हुन नसक्ने लगायत आयोजनासँग सम्बन्धित स्थानीयवासीका जायज माग, गुनासा तथा क्षतिपूर्तिका विषयमा पर्याप्त सुनुवाइ नभएसम्म आयोजना अघि नबढाउन निर्देशन दिइएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले जानकारी दिए ।
आयोजना निर्माणका क्रममा हुनसक्ने मानवीय तथा प्राकृतिक जोखिम, भौगोलिक अवस्था, वातावरणीय प्रभाव, स्थानीयवासीको चासो तथा क्षति र पुनर्वाससम्बन्धी विषय समेत पर्याप्त रूपमा सम्बोधन नगरी निर्माण अघि बढाउँदा भविष्यमा थप विवाद र जोखिम उत्पन्न हुनसक्ने अध्यक्ष शेर्पाको भनाई छ ।
गाउँपालिकाले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, जनप्रतिनिधि, वडा कार्यालय, संघर्ष समिति, सरोकारवाला सरकारी निकाय तथा आयोजना प्रतिनिधिबीच सार्वजनिक परामर्श, सुनुवाइ र अन्तरक्रिया गरी आवश्यक सहमति कायम गर्न सुमेत निर्देशन दिएको छ ।
यसअघि पटक–पटक जलविद्युत् आयोजना सम्बन्धमा स्थानीयवासीले गुनासा र क्षतिपूर्तिको विषय सार्वजनिक रूपमा उठाउँदै आएका थिए । गाउँपालिकाले सम्बन्धित सरोकारवालाबीच आवश्यक सहमति र समन्वय कायम नभएसम्म आयोजना निर्माण, उपकरण तथा जनशक्ति परिचालन, नयाँ संरचना निर्माणलगायतका भौतिक कार्य अघि नबढाउन भनेको छ ।
आयोजना दीर्घकालीन रूपमा सुरक्षित, वातावरणमैत्री, स्थानीय जनताको हितअनुकूल सञ्चालन हुनुपर्ने र बर्षातको समयमा काम अघि बढाउँदा क्षति बढ्ने जोखिमलाई समेत ध्यानमा राखेर तत्काल काम अघि नबढाउन भनेको अध्यक्ष शेर्पाको भनाई छ ।


गाउँपालिकाको यो निर्णयसँगै स्थानीयको माग र सरोकारलाई सम्बोधन नगरी जलविद्युत् आयोजना अघि बढाउन खोजिएको विषयमा नयाँ बहस सुरु भएको छ । विकासका नाममा स्थानीयको अधिकार, वातावरणीय सुरक्षा र क्षतिपूर्तिको प्रश्न ओझेलमा पार्न नहुने तर्फ पालिकाले सचेत गराएको छ ।
खिजीदेम्बा गाउँपालिका भित्र सञ्चालनमा रहेका हाइड्रोको दादागिरी रोक्न गाउँपालिकाले कडा कदम चालिरहेको छ ।

प्रतिक्रिया