ओखलढुंगा । खानेपानीको स्रोत अभावमा समस्या झेल्दै आएका खिजीदेम्बाका स्थानीयले अब कुहिरोबाट सङ्कलन गरिएको पानी प्रयोग गर्न थालेका छन् । खिजीदेम्बा गाउँपालिका–५ मेले गुम्बा टोलमा ‘फग हार्भेस्टिङ’ प्रविधिमार्फत कुहिरो सङ्कलन गरी खानेपानी वितरण सुरु गरिएको हो ।
समुद्री सतहदेखि करिब दुई हजार ३३० मिटर उचाइमा रहेको क्षेत्रमा १० वटा फग हार्भेस्टिङ युनिट जडान गरिएको छ । युनिटमा राखिएको विशेष जालीमा कुहिरोका सूक्ष्म पानीका कण सङ्कलन गरी २०० लिटर क्षमताका ट्याङ्कीमा जम्मा गरिन्छ ।
सङ्कलित पानीलाई बायो–स्यान्ड फिल्टर मार्फत शुद्धीकरण गरी दुई हजार लिटर क्षमताको मुख्य ट्याङ्कीमा भण्डारण गरेर स्थानीयलाई वितरण गर्ने व्यवस्था मिलाइएको छ ।
खिजीदेम्बा गाउँपालिकाका अध्यक्ष गम्बु शेर्पाका अनुसार योजनाबाट सामतेन छोलिङ गुम्बा बौद्ध अध्ययन केन्द्रसहित आसपासका नौ घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । खानेपानीका लागि सहज हुनुका साथै सङ्कलित पानी तरकारी खेतीमा समेत प्रयोग हुन थालेको अध्यक्ष शेर्पाले बताए ।
खिजीदेम्बा गाउँपालिकाको समन्वयमा जर्मन संस्था डीआईजेड र आईकेआई ग्रान्टको आर्थिक सहयोग तथा स्मार्ट अर्थ नेपालको प्राविधिक सहयोगमा एक करोड रुपियाँभन्दा बढी लागतमा योजना सम्पन्न भएको हो ।
प्राकृतिक पानीका स्रोत सीमित भएका उच्च पहाडी क्षेत्रमा कुहिरोबाट पानी सङ्कलन गर्ने प्रविधि वैकल्पिक खानेपानी व्यवस्थापनको उपाय बन्न सक्ने बताइएको छ । खिजीदेम्बामा गरिएको प्रयोगले नयाँ प्रविधिबाट दुर्गम क्षेत्रमा पानीको समस्या समाधान गर्ने सम्भावना देखाएको छ ।

प्रतिक्रिया