मानेभञ्ज्याङका कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण

भिजन समाचार
0
Shares

ओखलढुंगा ।  कृषिको आधुनिकीकरण र उत्पादन वृद्धि गर्ने उद्देश्यसहित ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिकाले ३८ जना कृषकलाई अनुदानमा कृषि यन्त्र वितरण गरेको छ ।

गाउँपालिकाको कृषि शाखामार्फत ७५ प्रतिशत अनुदान र कृषकको २५ प्रतिशत लागत साझेदारीमा आठ लाख रुपैयाँ बजेटबाट १५ जना कृषकलाई मिनी टिलर वितरण गरिएको हो ।

यस्तै, संघीय सशर्त अनुदानअन्तर्गत सञ्चालित मध्य पहाडी मकैबाली प्रवर्द्धन कार्यक्रम मार्फत ५० प्रतिशत अनुदान र ५० प्रतिशत कृषकको लागत साझेदारीमा नौ लाख ७० हजार रुपैयाँ बजेटबाट २३ जना कृषकलाई कम्बाइन मिल हस्तान्तरण गरिएको कृषि शाखा प्रमुख सन्तोष थापाले जानकारी दिए ।

एक कार्यक्रमका बीच गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्ष आश्राचन राईले कृषकलाई कृषि यन्त्र हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै उनीहरूले परम्परागत खेती प्रणालीलाई आधुनिक प्रविधिसँग जोडेर कृषि उत्पादन र उत्पादकत्व बढाउनुपर्नेमा जोड दिए ।

उनीहरूले वितरण गरिएका कृषि यन्त्रको सुरक्षित र प्रभावकारी प्रयोग गर्न कृषकलाई आग्रह गर्दै यस्ता प्रविधिले श्रम, समय र उत्पादन लागत घटाउनुका साथै कृषिलाई व्यवसायिक बनाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

गाउँपालिकाका अनुसार यस कार्यक्रमबाट ३८ जना कृषक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन् । कृषि यन्त्रीकरणमार्फत स्थानीय कृषकलाई व्यवसायिक खेतीतर्फ आकर्षित गर्दै उत्पादन वृद्धि, श्रम अभावको व्यवस्थापन तथा आयआर्जनमा टेवा पुर्‍याउने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।