काठमाडौंमै गाउँको सेवा : खिजीदेम्बाले तीन दिन एकीकृत सेवा शिविर सञ्चालन गर्ने

भिजन समाचार
0
Shares

ओखलढुंगा । ओखलढुंगाको खिजीदेम्बा गाउँपालिकाले काठमाडौंमा बसोबास गर्दै आएका आफ्ना नागरिकलाई लक्षित गर्दै तीनदिने एकीकृत सेवा शिविर सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले वडा कार्यालयबाट प्रदान गरिने अत्यावश्यक सेवाहरू काठमाडौंमै उपलब्ध गराउने उद्देश्यका साथ शिविर आयोजना गर्न लागेको हो ।

गाउँ कार्यपालिकाको साउन १३ गते बसेको बैठकले साउन २५, २६ र २७ गते काठमाडौंको जोरपाटीस्थित शेर्पा पार्टी प्यालेस (चामुण्डा गेट) मा शिविर सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत नविना गिरीले जानकारी दिइन् ।

उनका अनुसार शिविरमार्फत व्यक्तिगत घटना दर्ता (जन्म, मृत्यु, विवाह, बसाइँसराइ तथा सम्बन्ध विच्छेद), सामाजिक सुरक्षा भत्ता दर्ता तथा नवीकरण, भूमि कर तथा मालपोत संकलन, राष्ट्रिय परिचयपत्र वितरण तथा वडा कार्यालयबाट प्रदान गरिने सबै प्रकारका सिफारिस सम्बन्धी सेवा उपलब्ध गराइनेछ ।

गाउँपालिकाले विशेषगरी काठमाडौंमा अध्ययन, रोजगारी, उपचार तथा अन्य कारणले बसोबास गरिरहेका खिजीदेम्बावासीलाई गाउँ नफर्किकनै आवश्यक प्रशासनिक सेवा प्राप्त गर्ने वातावरण सिर्जना गर्न यो अभियान सञ्चालन गर्न लागेको जनाएको छ। यसबाट समय, खर्च र झन्झटको उल्लेखनीय बचत हुने विश्वास गरिएको छ ।

सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजात साथमा लिएर तोकिएको स्थान र मितिमा उपस्थित हुन गाउँपालिकाले अनुरोध गरेको छ ।

स्थानीय सरकारको सेवा प्रवाहलाई नागरिकको पहुँचसम्म पुर्‍याउने अभ्यासका रूपमा काठमाडौंमै सञ्चालन हुन लागेको यो एकीकृत शिविरलाई सेवामुखी र नागरिकमैत्री पहलका रूपमा हेरिएको छ । विशेष गरी राजधानीमा बसोबास गर्ने गाउँपालिकावासीका लागि सहज, छरितो र प्रभावकारी सेवा उपलब्ध गराउने उद्देश्यले यस्तो कार्यक्रम सञ्चालन गर्न लागिएको हो ।