ओखलढुंगामा मनसुनजन्य विपद प्रतिकार्यको तयारी

चिशंखुगढीका बाढी पीडितलाई राहत र पुनःस्थापनाको पहल

भिजन समाचार
0
Shares

मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै ओखलढुंगामा विपद् पूर्वतयारीलाई तीव्र पारिएको छ । मंगलबार प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलको अध्यक्षतामा बसेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकले राहत, उद्धार, पुनर्निर्माण, पुनःस्थापना तथा विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन विभिन्न निर्णय गरेको हो ।

बैठकले असार ६ गते अविरल वर्षापछि चिशंखुगढी गाउँपालिकाकास्थित खानी खोला, गणहा खोला र बाङ्गे खोलामा आएको बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गरी राहत, मर्मत, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि सम्बन्धित संघीय तथा प्रादेशिक मन्त्रालय र निकायमा सिफारिस गर्ने निर्णय गरेको छ ।

यस्तै प्रभावित क्षेत्रमा आवश्यक कार्यक्रम सञ्चालनका लागि सम्बन्धित निकायसँग समन्वय गरिने भएको छ । बाढीबाट प्रभावित चिशंखुगढीमा तत्काल खानेपानी सेवा सुचारु गर्न आवश्यक पाइप, जालीलगायत मौज्दात सामग्री सम्बन्धित कार्यालयमार्फत उपलब्ध गराउने निर्णय पनि बैठकले गरेको छ । आगामी मनसुनमा हुन सक्ने बाढी, पहिरो तथा अन्य प्राकृतिक विपद्को जोखिमलाई ध्यानमा राख्दै सबै सरकारी कार्यालय, सुरक्षा निकाय तथा स्थानीय तहलाई आवश्यक जनशक्ति, उपकरण र स्रोत–साधनसहित उच्च तयारी अवस्थामा रहने निर्णय भएको छ ।

विपद् व्यवस्थापनका लागि जिल्लास्थित संघसंस्था तथा स्थानीय तहसँग आवश्यक सामग्री जुटाउन समन्वय गरिने र मनसुन अवधिभर सूचना आदान–प्रदान र तत्काल प्रतिकार्यलाई प्राथमिकतामा राख्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलले जानकारी दिए ।

बैठकले गृह मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयमार्फत एक थान वाटर बोट खरिद गरी सशस्त्र प्रहरी बल सुरक्षा बेस हर्कपुरलाई हस्तान्तरण गर्ने तथा उद्धारका लागि आवश्यक अन्य सामग्री खरिद गरी जिल्ला प्रशासन कार्यालयको विपद् गोदाममा मौज्दात राख्ने निर्णय पनि गरेको छ ।

सुरक्षा निकायलाई आवश्यक उद्धार सामग्री उपलब्ध गराई विपद्का बेला उद्धार कार्यलाई अझ छिटो, प्रभावकारी र व्यवस्थित बनाइने भएको छ । बैठकमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेका विपद् व्यवस्थापनसम्बन्धी कार्यविधि र निर्देशिकाबारे जानकारी गराउँदै सबै निकायले आ–आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिइएको थियो ।

राहत तथा अनुदान वितरणसम्बन्धी प्रचलित मापदण्ड र कार्यविधिअनुसार विपद् प्रभावितलाई राहत उपलब्ध गराउने निर्णय गरिएको छ ।

सिद्धिचरण नगरपालिका–९ का आगलागी पीडित पहलमान श्रेष्ठलाई अस्थायी आवास निर्माणका लागि लाभग्राही कायम गरिएको छ भने गत वर्षको बाढी–पहिरोबाट प्रभावित मानेभञ्ज्याङ गाउँपालिकाका सात घरपरिवारलाई दोस्रो किस्ताबापत प्रतिपरिवार २५ हजार रुपैयाँका दरले कुल एक लाख ७५ हजार रुपैयाँ उपलब्ध गराउने निर्णयलाई पनि बैठकले स्वीकृत गरेको छ ।

सशस्त्र प्रहरीलाई हस्तान्तरण गरिएका १२० थान प्लास्टिक बोरा तथा विपद् प्रभावित परिवारलाई वितरण गरिएका २३ थान त्रिपाल र तीन वटा प्लास्टिक बाल्टिनको वितरण अनुमोदन गरिएको छ । स्थानीय तहबाट प्राप्त थप तथ्याङ्क समावेश गरी तयार पारिएको मनसुनजन्य विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाको मस्यौदा समेत बैठकले पारित गरेको छ ।

बैठकमा जिल्ला समन्वय समिति प्रमुख टेकराज भट्टराई, जिल्लाका स्थानीय तहका प्रमुख तथा प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, विभिन्न सरकारी कार्यालयका प्रमुख, राजनीतिक दलका प्रतिनिधि तथा अन्य सरोकारवालाको सहभागिता रहेको थियो ।

समितिले मनसुन अवधिभर विपद् व्यवस्थापनलाई थप प्रभावकारी, समन्वयात्मक र परिणाममुखी बनाउन सबै निकायलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको छ ।