सिद्धिचरण नगरपालिकाको बजेटमा शिक्षा–स्वास्थ्य–कृषिलाई प्राथमिकता

भिजन समाचार
32
Shares

ओखलढुंगा । सिद्धिचरण नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ६७ करोड १२ लाख ४५ हजार ४२४ रुपैयाँ बराबरको बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ । नगरपालिकाको १८औँ नगरसभामा उपमेयर केदारबाबु बस्नेतले बजेट प्रस्तुत गरेका हुन् ।

नगरपालिकाले आगामी वर्ष शिक्षा, स्वास्थ्य, कृषि तथा पशुपालन, पूर्वाधार विकास, खानेपानी र सिँचाइ क्षेत्रलाई उच्च प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको जनाएको छ । बजेटका अनुसार चालु तथा प्रशासनिक खर्चमा मितव्ययिता अपनाउँदै ११ करोड ९३ लाख रुपैयाँ मात्रै विनियोजन गरिएको छ ।

बजेट कार्यान्वयनका लागि नगरपालिकाले आन्तरिक आयबाट २ करोड रुपैयाँ, घरजग्गा रजिस्ट्रेशन दस्तुर बाँडफाँडबाट ५० लाख रुपैयाँ तथा संघीय राजस्व बाँडफाँडबाट ९ करोड ९७ लाख ५९ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ । यस्तै प्रदेश सरकारबाट सवारी साधन कर बाँडफाँडमार्फत ९७ लाख ५८ हजार २७२ रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ ।

संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १० करोड ७५ लाख, समपूरक अनुदान ४० लाख, विशेष अनुदान ८६ लाख तथा सशर्त अनुदान ३६ करोड ८४ लाख रुपैयाँ प्राप्त हुने जनाइएको छ । प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान ९६ लाख ३८ हजार, समपूरक अनुदान ८० लाख र सशर्त अनुदानअन्तर्गत १ करोड ७३ लाख ३७ हजार रुपैयाँ प्राप्त हुने अनुमान गरिएको छ । बाँकी अपुग रकम अघिल्लो आर्थिक वर्षको बैंक मौज्दातबाट व्यवस्थापन गरिने बताइएको छ ।

नगरप्रमुख तेजेन्द्र खनालका अनुसार कृषि पूर्वाधार, सिँचाइ, कृषि उत्पादन तथा उत्पादकत्व वृद्धि, रैथाने बालीको संरक्षण, व्यवसायीकरण र बजारीकरणमा विशेष जोड दिइनेछ । साथै शिक्षा, स्वास्थ्य पूर्वाधार, स्वरोजगार र विकास निर्माणका कार्यक्रमलाई पनि प्राथमिकतामा राखिएको उनले बताए ।

यसैबीच नगरसभाका प्रमुख अतिथि कोशी प्रदेशका भौतिक पूर्वाधार मन्त्री प्रदीपकुमार सुनुवारले आफ्नो पहलमा जिल्लाका लागि यस वर्ष उल्लेखनीय बजेट विनियोजन भएको दाबी गरे । उनले पर्यटन क्षेत्रलाई केन्द्रमा राखेर स्थानीय तहहरूले योजनाबद्ध रूपमा काम गर्न सके जिल्लाको दीर्घकालीन विकास सम्भव हुने धारणा व्यक्त गरे ।

सिद्धिचरण नगरपालिकासहित ओखलढुंगाका अन्य स्थानीय तहहरूले पनि आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेका छन् ।