चिसंखुगढीमा बाढीपहिरोले पक्की पुल र घरगोठ बगायो, चौपायामा क्षेती

भिजन समाचार
0
Shares

ओखलढुंगा । चिसंखुगढी गाउँपालिकामा अविरल वर्षाका कारण आएको बाढी र पहिरोले भौतिक संरचना तथा चौपायामा ठूलो क्षति पुर्‍याएको छ ।

शनिबार अपरान्हदेखि सुरु भएको वर्षाका कारण चिसंखुगढी गाउँपालिका वडा नं. ३ र ५ जोड्ने खानीखोलाको पक्की पुल बाढीले आंशिक रूपमा बगाएको छ । यस्तै, वडा नं. १ र २ को सिमानामा रहेको बाङ्गे खोलाको बाढीले स्थानीय टिका भुजेल, मन नारायण श्रेष्ठ र मन बहादुर सार्कीको गोठ पूर्ण रूपमा बगाउँदा १ भैँसी र ५ वटा गोरु बेपत्ता भएका छन् । पहिरोका कारण राम कुमार राई र जनक बहादुर मगरको घरमा आंशिक क्षति पुगेपछि उनीहरू परिवारसहित आफन्तकोमा विस्थापित भएका छन् ।

यसैगरी, वडा नं. ५ छहरेस्थित गणहा खोलामा आएको बाढीले सुरेश नेपालीको गोठ बगाउँदा १ भैँसी बेपत्ता भएको छ भने एउटा पाडो मृत फेला परेको छ ।

सबै घटनाहरूमा मानवीय क्षति भने भएको छैन । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी खानीभञ्ज्याङबाट प्रहरी नायब निरीक्षक खुदु मुर्मु र प्रहरी चौकी शेर्नाबाट प्रहरी सहायक निरीक्षक दुलिचन साहको कमाण्डमा प्रहरी टोली घटनास्थलमा खटिएर खोजतलास तथा क्षतिको थप विवरण संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष निशान्त शर्माका अनुसार चाढै क्षतिको एकिन विवरण संकलन गरि राहतको व्यवस्था गरिने छ ।